काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपालले आजैदेखि शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ ।
सशस्त्र युद्धमा रहेको नेकपा (विप्लव समूह) सँग बिहीबार तीनबुँदे सहमति भएपछि मुलुकबाट अब हिंसाको अन्त्य भएको प्रष्ट पार्नुभएको छ ।
सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमति पत्रमा हस्ताक्षर गर्न राष्ट्रिय सभागृहमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘नेपाल शान्तिको अन्तिम किस्ता पनि पूरा गरी शान्तिपूर्ण युगमा प्रवेश गरेको छ, अब नेपालमा हिंसात्मक गतिविधि छैन ।’
सरकार र नेकपा (विप्लव समूह) बीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । नेपाल र नेपाली जनताले शान्ति खोजेको चर्चा गर्नुहुँदै उहाँले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सामाजिक न्याय र समानता, अधिकारसम्म पुग्ने अवसरको प्राप्ती, लोकतन्त्रको रक्षा र शान्ति चाहेको चर्चा गर्नुभयो ।
‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई स्थापित गर्न शान्तिपूर्ण वातावरणको आवश्यकता पर्नेमा जोड दिनुहुँदै प्रधानमन्त्री ओलीले महासचिव चन्दले ऐतिहासिक जिम्मेवारी वहन गर्नुभएको भन्दै सरकार र पार्टीको तर्फबाट धन्यवाद समेत व्यक्त गर्नुभयो । “यो क्र्यास ल्याण्डिङ होइन, सेफ ल्याण्डिङ हो” प्रधानमन्त्री अोलीले भन्नुभयो, “यो रातारात गरेको सहमति होइन, लामो समयपछिको उपलब्धिको परिणाम हो ।”
सो अवसरमा विप्लव पक्षसँग छलफल र वार्ता गरेको दशौं वर्ष पुगेको उहाँले स्मरण गर्नुभयो ।
सहमति कार्यान्वयनको चरणमा कुनै समस्या आए वार्ताद्वारा सहमति खोजिने प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो सहमतिबाट नेपाल अब नयाँ युगमा प्रवेश गरेको छ ।” यसअघि सिके राउतसँग पनि यसैगरी वार्ताबाट सहमति गरी शान्तिको मूलधारमा ल्याएको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो । उहाँले शान्तिको नयाँ युगमा नेपाल प्रवेश गरेकाले नेपालको समृद्धिमा शंका नगर्न सबैमा अनुरोध गर्नुभयो ।
आजको उपलब्धिले विश्वकै कम्युनिष्ट आन्दोलनलाई नयाँ सन्देश दिएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “असल मनसायका साथ अगाडि बढ्दा सफलता प्राप्त हुन्छ भन्ने कुराको दृष्टान्त बन्न हामी सफल भएका छौं ।” कोही मान्छेहरुले देशलाई बर्बाद गर्न खोजेको उहाँले टिप्पणी गर्नुभयो । ‘उहाँहरुको माक्र्सवाद के हो म बुझ्दिनँ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताउनुभएको छ । हामीले प्रधानमन्त्रीको प्रस्ताव कसैलाई राखेका छैनौं र राख्दा पनि राख्दैनौं भन्नुहुुँदै प्रधानमन्त्री ओलीले आफूले लोकतन्त्रको सही अभ्यासका लागि प्रतिनिधिसभा विघटन गरेको भए पनि सर्वोच्चले पुनस्थापना गर्दा नयाँ तमासा शुरु भएको बताउनुभयो ।
प्रचण्ड–माधव पक्षप्रति टिप्पणी गर्नुहुँदै उहाँले भन्नुभयो, “उहाँहरुको कार्यशैली देखेर मलाई अचम्म लाग्छ, आफ्नो दलको प्रधानमन्त्रीलाई किस्तीमा राखेर अरु दललाई दिन हिँड्नुभएको छ ।” केही मानिसले कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्न खोजे पनि आफूहरुले त्यसो हुन कदापि नदिने बताउनुभयो । आफू नेतृत्वको वर्तमान सरकार नै सफल सरकार भएको दाबी उहाँले गर्नुभयो ।
साहसिक कामको शुरुवातमा सहभागी हुनुभएको भन्दै नेकपा विप्लवका महासचिव चन्दलाई प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गर्नुहुँदै मूलधारको राजनीतिका लागि शुभकामना दिनुभयो । वार्ता टोलीमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सबै नेतालाई पनि प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गर्नुभएको छ । ‘प्रत्यक्ष, परोक्ष तथा प्रकट अप्रकट ढङ्गले योगदान दिने सबैलाई धन्यवाद दिन चाहन्छु ।’ उहाँले भन्नुभयो, ‘यस खुशीको दिन, सफलताको दिन, देशले जितेको दिनलाई सार्थक बनाउने सबै पक्षलाई धन्यवाद व्यक्त गर्दछु ।’ फागुन १८ गते मंगलबार सरकारका तर्फबाट र नेकपा (विप्लव समूह) ले अलगअलग वार्ता टोली गठन गर्नुभएको थियो । दुवै समूहबीचको वार्तापछि २० गते बिहीबार तीनबुँदे सहमति भएको थियो ।