काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच गत बिहीबार भएको तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सरकार र नेकपा विप्लव समूहबीच बिहीबार बिहान तीनबुँदे सहमति भएको थियो ।
दुई पक्षबीच भएको सहमतिअनुसार विप्लव पक्षले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान आपसी संंवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषयहरु समावेश गरिएका छन् ।
सोही सहमतिको विस्तृत विवरण पत्रमा आज हस्ताक्षर भएसँगै सार्वजनिक गरिएको हो ।
सरकार र नेकपा विप्लव समूहबीच बिहीबार भएको सहमतिका तीन बुँदा
यस्ता छन् :
क) दुवै पक्ष नेपाल सरकार र नेकपा विप्लव समूह वार्ता र संवादबाट समस्या समाधान गर्न सहमत भएका छन् ।
ख) नेकपा सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमति भएको छ।
ग) सरकारले नेकपा विप्लवमाथि लगाएको प्रतिबन्ध हटाउन, जेलमा रहेका बन्दी रिहाइ गर्न र नेकपा विप्लव नेतामाथिका सबै मुद्दा खारेज गर्ने सहमति भएको छ ।