काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार र सो समूहबीच भएको तीनबुँदे सहमति अक्षरशः पालना गर्ने बताउनुभएको छ । उहाँले सरकार र आफ्नो पार्टीबीच भएको सहमति कुनै एक पार्टी र सरकारसँग मात्र नजोडिएको बताउनुभएको छ ।
उहाँले सरकारसँग ऐतिहासिक सहमति गरेको भोलिपल्ट शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै आफूहरुले गरेको सहमतिमा देशको विकास र समृद्धिको सपना लुकेको बताउनुभयो । ‘यो सहमति केवल सरकार र नेपाल कम्युनिष्ट पार्टीको मात्र होइन, यो सहमतिभित्र नेपाल देशलाई सवल, समृद्ध, स्वाभिमानी बनाउने सपना लुकेको उहाँले बताउनुभयो ।
कम्युनिष्टहरु भनेका विद्रोही मात्र नभएर शान्तिका दुत पनि भएको उहाँले बताउनुभयो । सरकारसँग भएको तीनबुँदे सहमतिमा आफ्नो पार्टी प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको र त्यसलाई पूर्ण रुपमा पालना गरिने उहाँको भनाइ थियो ।