गत फागुन ११ गते मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनस्र्थापना गरेपश्चात् नेपाली राजनीतिमा सत्तासमीकरणको चर्चा परिचर्चा ह्वात्तै बढेको छ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिँदै नेपालमा ‘अन्य देशका लागि कम्फर्टेबल सरकारको आवश्यकता’ भएको महसुस मात्र गरेनन्, स्पष्ट रुपमा छिमेकी देश भारतका लागि कम्फर्टेबल सरकार बनाउने परिवेश बनेको विचार नै राखे ।
नेपाल स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न मुलुक भएकाले नेपालको सरकार नेपाल र नेपाली जनताका लागि कम्फर्टेबल हुनपर्दछ । तर उनले आफ्नो विगतको राजनीतिक धरातललाई सम्झेर त्यस्तो अभिव्यक्ति दिएका हुन् । प्रचण्डको राजनीतिक आधारभूमि भारत नै हो । उनले भारतकै इशारामा जनयुद्ध छेडेका थिए । उनले भारतीय भूमिमै बसेर नेपालका सोझासिधा जनतालाई मिठामिठा आश्वासन दिएर युद्धमा धकेलेका हुन् । उनको राजनीतिक पालनपोषण नै भारतमा भएको हुनाले उनले आफ्नो नुनको सोझो गरेका हुन् । उनी राष्ट्रवादी नेता हुुँ भन्दै नाटकमात्रै रचिरहेका छन् । उनको वास्तविक चरित्र नै भारतीयहरुको गुलामी गरेर नेपालको शासनसत्तामा हालीमुहाली गर्नु हो । त्यसैले उनका अभिव्यक्ति पनि त्यसकै उपज हुन् । उनले आफ्नो वास्तविक चेहरा सबैलाई देखाएका छन् । उनको अभिव्यक्ति किमार्थ बनावटी होइन । उनले आफ्नो राजनीतिक गुरु भारतलाई कसरी पो भुल्न सक्थे । उनले भारतभूमिबाटै नेपालको अराजनीति सञ्चालन गरेका हुन् । त्यसैले उनको भित्री चाहना पनि भारतलाई खुसी बनाउनु नै हो ।
प्रचण्डको सत्ता समीकरणका सन्दर्भमा व्यक्त अराजनीतिक अभिव्यक्तिले नेपालको राजनीतिमा प्रचण्डको हैसियतलाई छर्लंग पारेको छ कि उनी नेपाल र नेपाली जनताका लागि होइन कि अरुलाई सुविधाजनक सरकार बनाएर आफू वफादार भक्त बन्ने प्रयास गर्दै छन् र उनको यो धर्म पनि हो । उनी आफ्नो भक्तिबाट प्रभुलाई सन्तुष्ट बनाउन चाहन्छन् । त्यसैले उनको भित्री मनशाय र अभिष्ट समेत प्रष्ट भएको छ । प्रचण्डको यो अभिव्यक्ति नेपाल र नेपाली जनताको स्वाभिमानमाथिको गम्भीर चोट हो । यसले नेपाली जनमतको अपमान गरेको छ । उनले यदि नेपाल र नेपालीको हित चाहन्थे भने नेपाल र नेपालीको भाग्य र भविष्य मजबुत बनाउनका लागि दत्तचित्त भएर लाग्ने र समृद्ध नेपाल निर्माणको राष्ट्रिय अभियानमा लागेका राजनेताहरुलाई अपमान गरी बहुमतको सरकारलाई ढाल्न अनेक तिकडम रचे । त्यो भएन असल विचार भएका राजनेताहरुसँग सत्तासमीकरण गर्नतिर लाग्नुपर्ने थियो । तर, हामी नेपालीहरुको विडम्बना भनौं या के भनौं उनी जस्ता देशविरोधी नेताहरुलाई विश्वास गरेर आफ्नो अमूल्य मत जाहेर ग¥यौं । यद्यपि प्रत्येक व्यक्तिको चरित्रलाई ढिलोचाँडो पहिचान गर्ने क्षमता नेपाली जनताले राख्छन् भन्ने तथ्य र प्रमाण नेपालको विगतमा भएका राणाशासन, पञ्चायती व्यवस्था र राजा ज्ञानेन्द्र जस्ताहरुलाई नेपाली जनताले सत्ताच्युत नै गरेर देखाइसकेका छन् ।
प्रचण्ड कहाँ र कसबाट सञ्चालित छन् ? उनले आफ्नो लगायत धेरै खुस्केको जागिर र तीनतीन महिनाको झन्नै गुमेको तलब एकैचोटि होलसेलमा प्राप्त हुँदाको खुसीले बुरुकबुरुक उफ्रिएका हुन् कि के हो ? नत्र भने किन उनी त्यसरी जताभावी बोल्दै हिँडेका छन् । उनकै बोली सापटी लिएर भन्ने हो भने उनले गरेको दशवर्षे जनयुद्धको माग के अरुका लागि कम्फर्टेबल सरकार निर्माण गर्ने थियोे कि नेपाल र नेपालीका लागि सुविधाजनक सरकार ? यसको जवाफ आमनेपालीलाई दिन आवश्यक छ ।
जेहोस्, अहिले आफ्नो मुलुकको सङ्कटापन्न अवस्थामा राष्ट्रियतालाई नै बेचेर भारतीय कम्फर्टेबल सरकार बनाउने भन्दै उफ्रिनु देश र जनताका लागि घातक छ । यो देशका नागरिकमा आक्रोशको आगो त उर्लेकै छ । यतिमात्र होइन जसका लागि कम्फर्टेबल बनाउन सरकार गठन गर्ने भनेर कराइँदै छ त्यसले नेपालको हित पक्कै गर्ने छैन ।
संसारबाट लोप हुँदै गएको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक बहुदलीय प्रतिस्पर्धाबाट लोकप्रिय बनाउन सकिन्छ भन्ने महान् जननेता मदन भण्डारीको बहुदलीय जनवादको वैचारिक धार बोकेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्ष पनि सरकार चलाउन नदिने दुष्प्रयास गरिएको छ । यसले नेपाल र नेपालीको भविष्यमाथिको कुठाराघात सिवाय अरु केही होइन । पाँच वर्ष समेत पर्खिन नसकेर अहिलेको अहिल्यै आफूलाई प्रधानमन्त्री चाहियो भन्ने कथन जुन कमरेड प्रचण्डको छ, यो आफैंमा बबुरो र हास्यास्पद छ । यसबाट कम्फरटेबल कमरेडले आफ्नै मान सम्मान प्रतिष्ठालाई घटाउँदै लगेको अनुमान गर्न कठिन छैन ।
कम्फरटेबल कमरेडबाट विगतमा सोझासाझा युवायुवतीलाई जसका विरुद्ध र जे गर्न भनेर बुरुकबुरुक पारी बलिदान गर्न लगाइएको थियो, त्यो त आखिर केका लागि रहेछ भन्ने कुरा अहिले विस्तारै खुल्दै छ । साँच्चै परिवर्तन र क्रान्तिका लागि लाग्नुभएका मोहन वैद्य र सिपी गजुरेललाई भारतीय भूमिमा गिरफ्तार गराउने को रहेछ भन्ने रहस्य पनि प्रचण्ड कमरेडको अभिव्यक्तिहरुबाट क्रमशः खुल्दै छ ।
जीवनभर हजारौं सोझासाझा सहिदको चेक साटेर प्रधानमन्त्री पद पड्काउने दाउ गरेका कम्फर्टेबल नेताले राष्ट्रियतालाई बेच्न खोजेको त होइन ? भन्ने यक्षप्रश्न उब्जिएको छ । छिमेकीलाई कम्फरटेबल हुने गरी दक्षिणतर्फ फर्केर लम्पसार पर्दै देश नै बेच्ने संकेत गर्ने यस्ता अभिव्यक्तिले नेपाल र नेपाली जनताको मन भाँच्चिएको छ । यसको हिसाबकिताब नेपाली जनताले भविष्यमा राख्नेछन् ।
जसपाका नेता राजेन्द्र महतोले प्रचण्ड–नेपाल समूहलाई अरुका लागि कम्फरटेबल बन्दा नेपाल र नेपाली जनताका लागि अनकन्फरटेबल बन्ने खतरातर्फ संकेत गर्दै आफूहरु अहिले सरकारमा नजाने बताउनुभयो । महतोले झण्डै दुई तिहाइ नजिकको वर्तमान कम्युनिष्ट सरकारलाई हटाएर तत्काल अर्को सरकारको परिकल्पना गर्न नसकिने र यदि त्यो भयो भने नेपाली जनतामाथि गम्भीर धोका हुने विचार राख्नुभयो । यस विषयमा सबै नेपालीहरुले सचेतता अपनाउनुपर्ने विचार प्रस्तुत गदै प्रचण्डको कडा रुपमा आलोचना गर्नुभयो । उहाँले प्रचण्डको कुत्सित स्वार्थ र जनमतमाथिको धोकाधडीमा आफ्नो पार्टीले साथ नदिने विचार प्रस्तुत गर्नुभएको छ । नेमकिपामा नेता नारायणमान विजुक्छेले पनि अरुका लागि नभई नेपाल र नेपालीको जनमतको कदर गर्ने सरकार यो देशका लागि आवश्यक भएको धारणा राख्नुभएको छ । उहाँले प्रचण्डले दिएको अभिव्यक्तिको कडा रुपमा प्रतिरोध गर्दै राष्ट्रियताविरोधी भावना राख्नेहरुलाई नेपाली जनताले दण्ड दिनुपर्ने कुरामा जोड दिनुभयो ।
कम्फर्टेबल सरकार बनाउने कुरामा निर्णायक भूमिकामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रहेको छ । कांग्रेसले अब कस्तो रोल प्ले गर्छ त्यसैमा नेपालको सत्तासमीकरण निर्माण हुने देखिन्छ । प्रचण्डले नेपाली कांग्रेस र जसपाको हवाला दिँदै नेपालमा कम्फर्टेबल सरकार बनाउने उद्घोष गरेका छन् । सत्तासमीकरणको मुख्य मियोका रुपमा रहेको नेपाली कांग्रेसले भारतको कम्फर्टेबल सरकार बनाउने या त नेपाल र नेपाली जनताको सुविधाजनक सरकार ? यक्षप्रश्न यही नै हो । यदि नेपाली जनताको बलमा राजनीति गरेको हो भने नेपाली कांग्रेसले नेपाली जनताको इच्छा र आकांक्षा अनुसारको सरकार निर्माण गर्नेछ । यसले उसको राजनीतिक भविष्यलाई पनि सुरक्षित गर्नेछ । होइन अरुकै लागि कम्फर्टेबल सरकार बनाउनतिर लाग्यो भने आगामी दिनमा नेपाली जनताले नेपाली कांग्रेसको साइज निर्धारण गर्नेमा कुनै शंका छैन । त्यसैले बेलैमा विचार पु¥याएर नेपाली कांग्रेसले नेपाल र नेपालीको हित अर्थात् राष्ट्रियताको पक्षमा लागेका शक्तिहरुसँग सहकार्य गरेर नेपालको सत्तासमीकरण निर्माण गर्नु नै सबैको हितमा छ ।