काठमाडौं । अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले नेकपा संसदीय दल र प्रतिनिधिसभा दुवै ठाउँमा ओली पक्ष बहुमतमा रहेको बताउनुभएको छ । गृहजिल्ला रुपन्देहीको बुटवलमा बिहीबार पत्रकारसँग कुरा गर्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
बहुमतमा रहेका कारण प्रधानमन्त्री ओलीले नै अबको दुई वर्ष सरकारको नेतृत्व गर्ने मन्त्री पौडेलले बताउनुभयो ।
बहुमतमा रहेका कारण प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता हुँदैमा वर्तमान सरकार नढल्ने दाबी उहाँले गर्नुभयो । उहाँले केपी शर्मा ओलीलाइ प्रधानमन्त्रीबाट हटाउने सबै प्रकारका षड्यन्त्रहरु असफल हुने दाबी गर्नुभयो ।
‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई हटाउने सबै प्रकारका षड्यन्त्रहरु सम्पूर्ण रुपमा असफल हुने विचार उहाँले राख्नुभयो । त्यसका लागि बहुसंख्यक सांसद, संसदीय दल र प्रतिनिधिसभामा पनि ओली पक्ष बहुमतमा भएको मन्त्री पौडेलले बताउनुभयो । अहिलेको वर्तमान सरकारलाई हटाउन खोज्नेहरुको दाबी निरर्थक हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान सरकारलाई हटाउने यावत् प्रकारका षड्यन्त्र असफल हुन्छन् र बाँकी दुई वर्षको कार्यकाल कमरेड ओली नेतृत्वको सरकारले सफल हुनेछ।’
नेकपाको महासचिव समेत रहनुभएका मन्त्री पौडेलले आफ्नै दलको झण्डै दुई तिहाइको सरकार ढालेर कम्युनिस्ट इतरको सरकार बनाउन प्रचण्ड–नेपाल समूह लागिरहेको आरोप लगाउँदै त्यो प्रयास निरर्थक हुने जिकिर गर्नुभयो ।
‘उहाँहरुले अरु पार्टीका नेताहरुलाई प्रधानमन्त्री बनाउन अफर गरिरहनुभएको छ, यो सरकार गिराएर कम्युनिष्ट इतरको सरकार बनाउने उहाँहरुको प्रयास निरर्थक हुनेछ’, उहाँले भन्नुभयो ।
उहाँले २०५४ सालमा पनि माधवकुमार नेपालका कारण एमाले फुटेको भन्दै अहिले पनि पार्टी फुटाउन उहाँ नै लागिपरेको बताउनुभयो । उहाँले अहिले प्रचण्डले पार्टी फोर्न हिम्मत नगरेको बताउँदै ‘२०५४ सालमा उहाँले लचिलो कदम चाल्नुभएको थियो भने एमाले विभाजनबाट रोकिन्थ्यो । उहाँकै नेतृत्वमा त्यतिबेला नेकपा एमाले विभाजित भएको पौडेलले बताउनुभयो ।