काठमाडौं । फागुन २२ गते शनिबारदेखि महिला हस्तकला मेला हुने भएको छ।
नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने उक्त मेला फागुन २२ देखि २४ गतेसम्म सञ्चालन गरिने जनाइएको छ ।
नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले बिहिबार संयुक्त रुपमा पत्रकार सम्मेलनको अयोजना गर्दै महिला हस्तकला मेला २०७७ हुने जानकारी गराएको हो ।
‘हस्तकलाको प्रवर्द्धन महिला सशक्तिकरणको सम्वर्द्धन’ भन्ने नारासहित हुने मेलामा नेपाली उत्पादन तथा नेपालको पहिचान झल्कने गरी स्टलहरु राखिने भएको छ । मेलामा सानाठूला गरी ५० भन्दा बढी स्टलहरु रहनेछन् ।
सो मेलामा नेपाली ढाका, बाँस, काष्ठकला, गरगहना, कपडा, सीसा, धातु तथा कागजबाट बनाइएका सामानहरुको प्रदर्शन हुने जनाइएको छ । हस्तकला मेला ललितपुर महानगरपालिका अगाडिको खाली स्थानमा हुने भएको छ ।