काठमाडौं । खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि पाकिस्तान सुपर लिग टी ट्वान्टी क्रिकेटका बाँकी खेलहरु स्थगित भएका छन् । बिहीबार बिहान तीनजना खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि खेलहरु स्थगित गरिएको हो ।
पाकिस्तान क्रिकेट बोर्ड र सुपर लिगमा आबद्ध टोलीहरुबीच बिहीबार बिहान बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । बिहीबार बिहान तीनजना थप खेलाडीमा सङ्क्रमणको पुष्टि भएपछि पीएसएलमा कोरोना सङ्क्रमण भएकाको संख्या सात पुगेको छ । जसमध्ये छ जना खेलाडी छन् ।
बैठकपछि बोर्डले फ्रेञ्चाइज मालिकसँगको बैठकपछि खेलाडीको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर लिग स्थगित गर्ने निर्णय गरिएको जनाएको छ । लिगमा कुल छ टोली सहभागी छन् । बोर्डले छ वटै टोलीका सदस्य, कार्यरत कर्मचारीहरुको आइसोलेशनको उचित व्यवस्था, पीसीआर परीक्षण र खोपको भरपर्दो व्यवस्थापछि खेल पुनः सुरु हुने जनाएको छ ।
बोर्डले तीनजना नयाँ सङ्क्रमित दुई अलग अलग टोलीबाट रहेका जनाएको छ । तीनैजनाको बुधबार कोरोना परीक्षण गरिएको थियो ।
गत मार्च १ मा पीएसएलमा पहिलो खेलाडीमा सङ्क्रमणको पुष्टि भएको थियो । पीसीबीले फ्रेञ्चाइजका प्रत्येक सदस्यलाई खोप लगाउने प्रस्ताव समेत गरेको छ । पाकिस्तान सुपर लिग खेल्न गत साता मात्रै नेपाली लिग स्पिनर सन्दीप लामिछाने कराँची पुग्नुभएको थियो । उहाँ भने कुनै खेलमा सहभागी हुन नपाउँदै सुपर लिग स्थगित हुन पुगेको हो ।