काठमाडौं । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनस्थापना गरेपछि राजनीतिक वृत्तमा सत्ताको जोडघटाउ सुरु भएको छ । यस जोडघटाउमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रमुख भूमिका रहने देखिन्छ । वर्तमान सरकारलाई नै टिकाउने वा नयाँ सरकार बनाउने भन्ने निर्णायक भूमिकामा नेपाली कांग्रेस देखिन्छ । तर नेपाली कांग्रेस सरकारमा जाने या प्रतिपक्षमा बस्ने या त यही सरकारलाई निरन्तरता दिने भन्ने दोधारमा रहेको छ । तथापि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आफूले पाए पछि नहट्ने बताउनुभएको छ ।
बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’
सोही कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी प्रतिपक्षी दलको भूमिकाबाट डगमगाउन नहुने बताउनुभएको छ ।
उहाँले यतिबेला नेपाली जनताले कांग्रेसबाट धेरै आशा गरेका छन् भन्दै कांग्रेस प्रतिपक्षी भूमिकाबाट दाँयाबाँया गर्न नहुने बताउनुभयो ।
‘‘कांग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ । यद्यपि हामी सानो संख्यामा छौं, तैपनि हाम्रो भूमिका ठूलो छ, हाम्रो जिम्मेवारी ठूलो छ’ उहाँले भन्नुभयो, ‘सजग भएर, इमान्दार भएर विपक्षी दलको सही भूमिका निर्वाह गर्न सक्यौं भने अर्को चोटि लोकतन्त्रको रक्षा गर्न सहयोग गर्न सक्छौं ।’
पौडेलले विपक्षी दलको भूमिका यतिबेला के हुने भन्ने चाहिँ खुलाउनुभएन, यद्यपि कांग्रेस जिम्मेवारीबाट पन्छिन भने नमिल्ने बताउनुभयो ।


















