काठमाडौं । वनमन्त्री प्रेमबहादुर आलेले वन सिध्याउने माफियालाई कुनै पनि हालतमा सफल हुन नदिने बताउनुभएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आठौँ परिषदलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री आलेले वन क्षेत्रलाई विनाश गर्ने कुनै पनि खालको प्रस्ताव वन मन्त्रालयलाई स्वीकार्य नहुने बताउनुभएको छ ।
वैज्ञानिक वन व्यस्थापन कार्यक्रमले वन विनाश गरेकोले त्यसलाई खारेज गरिएको उहाँले बताउनुभयो । सो कार्यक्रमलाई जोगाउन आफूलाई ठूलो रकम दिने प्रस्ताव समेत वनमाफियाले ल्याएको उहाँले बताउनुभयो ।
उहाँले वन क्षेत्रमा भएको अनियमितता रोक्न सबै कर्मचारीले आफूलाई सहयोग गरेको बताउनुभएको छ । सफा नियतले काम गरे सबैले सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।
वनविनाश हुन्छ भनेर विकासका काम नै नरोकिने भए पनि विकासका नाममा जथाभावी वनविनाश हुन नदिने पनि मन्त्री आलेले बताउनुभयो । सबै योजना द्रुत गतिमा अघि बढ्ने गरी मन्त्रालयले काम गर्ने भए पनि जनतालाई प्रत्यक्ष प्रभाव पार्ने काम आफूले नगर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सरकारले वन नियमावली तयार गरिसकेकाले त्यो चाँडै आउने पनि उहाँले बताउनुभयो । सो अवसरमा एक महिनाभित्र नियमावली आउने उहाँले जानकारी दिनुभयो ।

























