काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा दुई तिहाई बहुमत ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
आफूलाई वैधानिक बाटोको प्रयोग गरी प्रधानमन्त्री पदबाट कसैले हटाउउँछ भने आफू हट्न तयार रहेको समेत उहाँले बताउनुभएको छ । आज झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई कसैले हटाउन सक्छ भने हट्न तयार रहेको तर त्यो सहज भने नभएको जिकिर गर्नुभयो ।
उहाँले अहिले आफूलाई कसैले हटाए पनि आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याएर पुनः सिंहदरबार फर्किने अडान दोहो–याउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कसैले मलाई हटाउन सक्छ भने हटाओस्, तर आउँदो चुनावमा दुई तिहाईका साथ सिंहदरबार फर्किन्छु ।’
“समृद्ध नेपाल र सुखी नेपाली” आफ्नो संकल्प भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यसका लागि सरकार र नागरिक सबै लाग्न आवश्यक रहेको बताउनुभयो । आमजनताको आकांक्षा, देशको आकांक्षा यस नाराभित्र समेटिएको उहाँले बताउनुभयो ।
आफू राजनीतिक गर्ने मान्छे भएकाले हरेक निर्णयमा जनतासामु जाने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘म मुद्दा हाल्न कहीँ गएको पनि छैन । म राजनीति गर्ने मान्छे हुँ । दरखास्त हाल्न, निवेदन हाल्न तपाईंहरुकोमा मात्र आउँछु ।’
प्रधानमन्त्री ओलीले सरकार अरु कसैका लागि कम्फर्टेबल नभर्इ जनताका लागि कम्फर्टेबल हुनुपर्ने बताउनुभयो । ‘नेपाली जनतालाई सजिलो हुने सरकार चाहिन्छ अरुका लागि होइन । जनतालाई रोजगारी दिने, आवास दिने, खानेपानी दिने, विद्यालय दिने, पाठ्यपुस्तक दिने सरकार आवश्यक छ । यो सरकार त्यस्तै छ । त्यसैले यो सरकार जनताका लागि कम्फर्टेबल छ ।’
आफ्नो नेतृत्वमा विकासका कार्यहरु धेरै अगाडि बढेकाले केही तत्वहरु त्यसबाट अत्तालिएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।