कैलाली । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले अरुको लागि कन्फरटेवल बन्दा आफू अनकन्फरटेवल बन्न नहुने बताउनु भएको छ ।
जनता समाजवादी पार्टीले कैलालीमा आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महतोले झण्डै दुईतिहाइ नजिकको कम्युनिष्ट सरकारलाई हटाएर तत्काल अर्को सरकारको परिकल्पना गर्न नसकिने बताउनुभएको छ ।
उहाँले वर्तमान सरकार माथि अविश्वास प्रस्तावको बारेमा आफ्नो पार्टीलाई अहिलेसम्म कुनै जानकारी नभएको नभएको र त्यसबारे नसोचिएको पनि बताउनु भएको छ ।
नेता महतोको प्रश्न छ – ‘एउटा पार्टी सरकारमा छ, त्यही पार्टीको झण्डै दुईतीहाइ नजिकको सरकार छ, दुनिया र संविधानको नजरमा नेकपा दुईतिहाइ नजिक सरकार भएको पार्टी हो, संसदीय दलको नेता केपी ओली, पार्टी अध्यक्ष केपी ओली, प्रधानमन्त्री केपी ओली, अनि अर्को सरकार बनाउने कुरा किन ?’
अहिले सरकार हटाएर नयाँ सरकार बनाउने भनि दुनियालाई झुक्याउने काम भइरहेको वताउँदै महतोले भन्नुभयो ‘अहिले न काँग्रेसले केही गर्न सक्छ न जसपाले केही गर्न सक्छ, बेकारमा आकास खस्यो भने के गर्ने भनेर अहिले किन सोच्ने ?’
नेकपा एक रहेसम्म सहकार्यको आवश्यकता नभएको वताउँदै नेता महतोले भन्नुभयो ‘माधव र प्रचण्ड भनेको को हो ? समूहसँग मिलेर सरकार बनाउने ? पहिला पार्टी चाहियो ? कि माधव–प्रचण्ड पार्टी भन्नु पर्यो, दलिय व्यवस्थामा पार्टी त चाहियो नि, दलिय व्यवस्थाको खिल्ली उडाउने काम नरौँ ?’
प्रचण्ड भारत र चीनको लागि कम्फरटेबल बन्दाबन्दै आफ्नै लागि अनकम्फरटेबल बनेको टिप्पणी गर्दै महतोले भन्नुभयो ‘अरुको लागि कम्फरटेबल बन्दा बन्दै आफू अनकन्फरटेबल बन्नु भएन नि ।’