झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको आज उद्घाटन गर्नुभएको छ । उहाँले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नुका साथै अस्पतालका कक्षहरुको पनि अवलोकन गर्नुभयो ।
बिर्तामोड निवासी दुर्गा प्रसाईँको ६ अर्ब रुपैयाँको निजी लगानीमा अस्पताल निर्माण भएको हो । जसमा बिरामीका लागि तीन सय शय्या रहेका छन् । करिब एक वर्षअघि नै सेवा शुरु गरेको अस्पतालको आज विधिवत् रुपमा उद्घाटन भएको हो । एक वर्षको अवधिमा करिब दुई हजार सात सय बिरामीले अस्पतालबाट सेवा लिएको बताइएको छ । जसमध्ये करिब एक हजार तीन सय झापाकै बासिन्दा रहेको जनाइएको छ ।
प्रधानमन्त्री ओलीद्वारा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार झापाको बिर्तामोड–७ मा ३७ परिवारका लागि निर्माण भएको सामूहिक आवास उद्घाटन गर्नुभएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले अब कुनै पनि घरमा ‘घरका तथा फुसको छानो’ नहुने व्यवस्था सरकारले गर्ने बताउनुभएको छ । खर तथा फुसको छानो भएकाहरुलाई टिनको छानो लगाउने प्रबन्ध सरकारले मिलाउने बताउँदै यसमा ढुक्क हुन उहाँले आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तपाईहरु आफ्नो योजना पठाउनुहोस् हामी त्यसका लागि बजेट पठाउँछौं ।’ अव्यवस्थित रुपमा बसोबास गर्दै आएका ३७ विपन्न परिवारका लागि हेविट्याट नेपालको आर्थिक सहयोग र सहारा नेपालको प्राविधिक सहयोगमा आवास निर्माण भएको हो ।
प्रधानमन्त्री ओलीले पाइला–पाइलामा विकासका कामहरु अघि बढाउने तवरले सरकारले कार्य गरिरहेको पनि बताउनुभयो । गरिब जनताका लागि सरकारले साना–साना आवास बनाएर उपलब्ध गराउँदै आएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
बिर्तामोड नगरपालिकाको संयोजनमा स्थानीय धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले १ बिघा ३ कठ्ठा जग्गा उपलब्ध गराएपछि यहाँ सामूहिक आवासका लागि घरहरु बनेका हुन् । चौधरी, कुर्मी र सन्थाल समुदायका विपन्न नागरिकका लागि घरहरु निर्माण भएको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले यो बस्तीमा तत्काल बिजुली बत्तीको व्यवस्थापन तत्काल गर्न विद्युत प्राधिकरणलाई निर्देशन पनि दिनुभयो ।