ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा मङ्गलबार बिहानदेखि लागेको आगो नियन्त्रणमा आउन थालेको छ । सदरमुकाम फुङ्लिङ बजारपछि जिल्लाकै दोस्रो ठूलो बजारको रुपमा रहेको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा बिहान करिब ९ः१५ बजे सुरु भएको आगलागी नियन्त्रणतर्फ गएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाका अनुसार आगलागी नियन्त्रणका लागि फुङ्लिङ नगरपालिकाको बारुणयन्त्र, एक्साभेटरसहित उपकरण प्रयोग गरिएको बताउनुभयो । यस्तै प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयसहितको जनशक्ति आगो नियन्त्रणमा जुटेको प्रनाउ राणाले बताउनुभयो । अहिले आगलागी सम्पूर्ण रुपमा नियन्त्रणमा नआए पनि बाँकी रहेका अन्य संरचनासम्म फैलिने अवस्था भने नरहेको उहाँले जानकारी दिनुभयो ।
यता आगलागीबाट करिब ४५ वटा घरहरु नष्ट भएको बताइएको छ । आगलागीबाट कति क्षति भयो भन्ने यकिन तथ्याङ्क भने आइनसकेको प्रनाउ राणाले जानकारी दिनुभयो । तत्काललाई आगलागी पूर्णरुपमा नियन्त्रणमा नआए पनि पुनः फैलनसक्ने अवस्था भने नरहेको उहाँले बताउनुभयो । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय जनप्रतिनिधि, सर्वसाधारणलगायत जनशक्ति खटिनुभएको निमित्त प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बारुणयन्त्रले बजार नजिक रहेको मैवाखोलाको पानी भरेर आगो निभाउने कार्य गरिएको थियो ।
आगो दोभान बजार नजिक खाम्लुङको साक्फारा वन क्षेत्रमा प्रवेश गरेकोले थप क्षति कति भयो भन्ने यकिन तथ्यांक संकलन भइरहेको जानकारी दिनुभयो । बजारका बाँकी रहेका घर तथा पसलसम्म फैलिन नदिनेगरी आगो निभाउने कार्य भएको र जङ्गल क्षेत्रमा पसेको आगो पनि नियन्त्रणमा आएको बताइएको छ । वन जङ्गलको क्षेत्र ठूलो भएको र जङ्गल नजिक घरहरु भएकाले गाउँबस्तीसम्म आगलागीले क्षति हुनसक्ने सम्भावना प्रवल रहे पनि सोको नियन्त्रण भएको मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुका वडाध्यक्ष लाक्पातेम्बा शेर्पाले बताउनुभयो ।
उता आगलागीको कारण खुलिनसकेको पनि प्रनाउ राणाले जानकारी दिनुभयो । दोभान बजारका घर तथा संरचनाहरु अधिकांश काठ र जस्तापाताको प्रयोगबाट बनाइएकाले आगो सुरु भएपछि सहज रुपमा फैलिएको उहाँको भनाइ छ ।
मेरिङ्देन गाउँपालिका–३ आठराइ त्रिवेणी गाउँपालिकाको संगम क्षेत्रमा पर्ने दोभान बजार ताप्लेजुङको दोस्रो व्यापारिक केन्द्र हो । बजारका अधिकांस घर काठ र टिनबाट बनाइएका कच्ची भएकोले क्षति बढी भएको बताइएको छ ।