काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले अनियमित कार्य गर्ने एक सय पाँच वटा व्यापारिक फर्मलाई एकैपटक कारबाहीको दायरामा ल्याएको छ ।
सामानमा बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नटाँस्ने, खरिद बिल नदेखाउने, इजाजत पत्र नलिई पसल सञ्चालन गर्ने तथा सरकारको अनुगमन कार्यमा सहयोग नपु¥याएको भन्दै ती फर्मलाई गरिएको हो ।
कारबाहीमा परेका फर्मले ३० लाख २३ हजार जरिवाना पनि तिर्नुपर्ने भएको छ । सो कार्यालयले चालू आर्थिक वर्षको फागुन १७ गतेसम्ममा दुई सय पाँच व्यापारिक फर्ममा अनुगमन गरी त्यसमध्ये एक सय पाँच व्यापारिक फर्मलाई कारबाही गरी ३० लाख २३ हजार जरिवाना रकम असुल गरेको संरक्षण कार्यालय वीरगञ्जले जनाएको छ ।
सोही सिलसिलामा एसआर रेडिमेड उद्योगलाई सबैभन्दा बढी ३ लाख रुपैयाँ जरिवाना गरिएको छ भने सो उद्योगले बहुराष्ट्रिय कम्पनीको लोगो आफ्नो उत्पादनमा लगाउने गरेको पाइएको छ । त्यसैले उक्त उद्योगलाई हदैसम्मको जरिवाना गरिएको जनाइएको छ ।
त्यसैगरी वीरगञ्जकै जय अम्बे ट्रेड एण्ड जेनरल अर्डर सप्लायर्सलाई दुई लाख ५१ हजार रुपैयाँ र गगन ट्रेडिङ हाउसलाई दुई लाख जरिवाना गरिएको छ । यसैगरी हेटौँडा उपमहानगरपालिका–३ स्थित घर संसार पसल तीन लाख रुपैयाँ जरिवानामा परेको छ । ती व्यापारिक फर्महरुले बढी मूल्य लिएर उपभोक्ता ठग्दै आएकाले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ बमोजिम तत्काल जरिवाना गरिएको निमित्त कार्यालय प्रमुख जीतबहादुर भण्डारीले बताउनुभयो ।
सो कार्यालयले सो अवधिमा सप्तरीमा ११, धनुषामा २०, महोत्तरीमा ६, सर्लाहीमा ३, रौतहटमा १७, बारामा ३, पर्सामा ७६, मकवानपुरमा १५ र चितवनमा २७ गरी जम्मा दुई सय पाँच वटा फर्मको अनुगमन गरी त्यसमध्ये एक सय पाँच वटा फर्मलाई जरिवाना गरेको हो ।
नेपालभर रहेका वाणिज्य कार्यालयमध्ये सबैभन्दा बढी राजस्व वीरगञ्ज कार्यालयले सङ्कलन गरेको दाबी सो कार्यालयका सूचना अधिकारी दिलीपखंग खत्वेले गर्नुभयो । ‘जरिवाना गरिएका फर्मले सो मितिबाट ७ दिनभित्र कार्यालयमा उपस्थित भई तोकिएको जरिवाना बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ ।