काठमाडौं । मित्र राष्ट्र चीनले नेपाललाई कोरोनाविरुद्धको थप आठ लाख डोज खोप उपलब्ध गराउने भएको छ ।
चिनियाँ दूतावासले आज विज्ञप्ति जारी गर्दै थप सहुलियत अनुदानमा खोप दिने बताएको हो । यसअघि चीनले नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने भएको थियो । चीनको प्रतिबद्धताअनुसार नेपालले अब १३ लाख डोज सिनोफार्म खोप प्राप्त गर्ने भएको छ ।
सिनोफार्मले उत्पादन गरेको खोप दिने चीनले घोषणा गरेको यो खोपलाई आपतकालीन प्रयोगका लागि सरकारले अनुमति समेत दिइसकेको छ । यो खोप ८० प्रतिशत प्रभावकारी हुने बताइएको छ । आगामी फागुन २३ देखि नेपालमा ५५ वर्षमाथिका नागरिकहरुले खोप लगाउँदै छन् ।