विराटनगर । पुस ५ गते पछि विकसित घटनाक्रमले नेकपा दुई समूहमा विभाजन भएको छ । नेताहरु दुई समूहमा विभाजित भएपनि केही नेताहरु भने तटस्थ बसेका छन् । उनीहरु मध्येका एक हुन पूर्वमन्त्री तथा नेकपा नेता लालबाबु पण्डित । उनले कांग्रेसको नेतृत्वमा सरकार बनाउन जाने प्रचण्ड–माधव पक्षको तयारीप्रति असहमति जनाएका छन् ।
पण्डितले बहुमतप्राप्त पार्टीले कांग्रेसको नेतृत्वमा सरकार बनाउन दौडधुप गर्नु जनमतको अपमान र दुर्भाग्यपूण भएको बताउनु भएको छ ।
पण्डितले भन्नुभयो, ‘बहुमतप्राप्त पार्टीले अर्कोलाई प्रधानमन्त्री बनिदेऊ भन्दै जानु दुर्भाग्यपूर्ण हो । यो जनमतको अपमान समेत भएकाले म यसको विपक्षमा उभिन्छु र नेतृत्वलाई बेलैमा जानकारी गराउन चाहन्छु ।’
उहाँले पार्टी एकताको सम्भावना समाप्त नभएकोले आफू अझै सोही अभियानमा लाग्ने बताउनभुयो । उहाँले भन्नुभयो, ‘अहिले म अलिकति सरसल्लाहमा छु, एक दुई दिनमा मेरो खेमा प्रष्ट हुनेछ।
पुष्पकमल दाहाल र माधव नेपालले हिजो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका थिए । उनीहरुले देउवालाई प्रधानमन्त्री स्वीकार गर्ने प्रस्ताव गरेपछि नेकपाका नेताहरुले विभिन्न प्रतिक्रिया जनाउँदै आएका छन् । नेताहरुले आफ्नो झण्डै दुई तिहाईको सरकार ढालेर कांग्रेसलाई सत्ता सुम्पिनु गलत भएको टिप्पणी गरेका छन् । पार्टीको विवादमा दाहाल–नेपाल समूहमा लागेका केही नेताहरुले पनि सो प्रस्तावप्र्रति असन्तुष्टि जनाएको नेकपा स्रोतको दावी छ ।