काठमाडौं । सरकारले एकैपटक चारवटा प्रदेशमा पाँच वटा औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । त्यस अन्तर्गत आज प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले आज अपरान्ह १२ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिनुभएको छ । पाँचमध्ये प्रधानमन्त्रीले दुई वटा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अन्य क्षेत्रहरुको शिलान्यास गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ११ गते बाँकेमा नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै अर्थमन्त्री विष्णु पौडेलले १३ गते रुपन्देहीमा मोतीपुर औद्योगिक क्षेत्र र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नै १७ गते मकवानपुरमा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ ।