काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायापालिकाको अवहेलना गरेको भन्दै सर्वोच्च अदातलमा परेका मुद्दामा आफै उपस्थित भएर लिखित जवाफ पेश गर्नु भएको छ ।
पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि सुनुवाइ जारी रहँदा प्रधानमन्त्री ओलीले संविधानमा संसद् पुनःस्र्थापनाको व्यवस्थै नभएको उल्लेख गर्दै संवैधानिक इजलासमा हुँदै आएको बहसप्रति गरेको टिप्पणीले अदालतको मानहानी भएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दामा गत माघ १५ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफ पेस गर्न आदेश दिनु भएको थियो ।
प्रधानमन्त्री ओलीले लिखित जवाफसहित आफैं उपस्थित भएर अदालतप्रतिको उच्च सम्मान व्यक्त गर्नुभएको बताइएको छ ।
प्रधानमन्त्री अदालतपुग्दा सुरक्षा कडा पारिएको थियो ।
‘सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीलाई प्रत्यर्थी कायम गरी मुद्दा गर्ने जुन आम प्रचलन देखिन्छ त्यसमा भने नियन्त्रण हुन जरुरी देखिन्छ,’ प्रधानमन्त्री ओलीले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा उल्लेख छ, ‘हुँदै नभएको वा एक अर्थमा बोलेको कुरा वा शब्दलाई अर्को अर्थ लगाई, बङ्ग्याई अदालतको अवहेलना जस्तो व्यक्तिगत दायित्वको मुद्दा दायर गर्नु आफैमा अत्यन्त आपत्तिजनक छ।’