काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रका नेताहरुबाट अलोकतान्त्रिक र गैरजिम्मेवार गतिविधि हुन थालेपछि ताजा जनादेशका लागि नयाँ निर्वाचनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताउनुभएको छ ।
आज सरकारका तीन वर्षका उपलब्धी सिंहदरबारबाट सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताका बीचमा जाने कुरा अलोकतान्त्रिक र असंवैधानिक हुन नसक्ने पनि स्पष्ट गर्नु भएकोछ ।
प्रतिनिधिसभा विघटन नहोस भन्नका लागि आफुले धेरै प्रयास गरेपनि निर्वाचनमा पराजित हुने व्यक्ति फेरि झयालबाट जस्केलाबाट छिरेर प्रधानमन्त्री बन्ने प्रयास हुने गरेको भन्दै अस्थिरता हुन नदिन आफूले उक्त कदम चालेको पनि बताउनु भयो ।
विगतमा भएका अस्वस्थ खेलको सधैका लागि ढोका बन्द गर्नु आवश्यक भएकाले पनि ताजा निर्वाचनमा जानुपरेको उहाँले बताउनुभयो ।
आफु र आफना स्वार्थलाई केन्द्रमा राखेर लोकतान्त्रिक प्रणालीलाई धरापमा राख्ने काम कदापि ठिक नभएको बताउनु हुँदै उहाँले त्यस कारण मैले ताजा जनादेशका लागि निर्वाचनको बाटो रोजेको बताउनु भयो ।
प्रधानमन्त्रीले आफु संविधान भन्दा अलग बाटोमा नहिँडेकाले यसलाई प्रतिगमन भन्नु गलत भएको वताउँदै ‘लोकतन्त्रको मूलमर्म सार्वभौम सत्ता प्राप्त जनताको बीचमा लोकतन्त्रको वास्तविक व्यवस्थामै कठिनाइ आयो भनेर त्यसलाई रोक्नका लागि जनताभन्दा माथि जाने निर्णय कुरा गर्दा प्रतिगमन ओलीले भन्नुभयो, ‘सरकारमा टाँसिएरै बस्छु भनेको छैन। जनतामा जान्छु भन्नु कसरी प्रतिगमन हुन्छ ?’ भन्ने प्रश्न गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले सुरुदेखि नै अप्ठ्यारो भए पनि एक वर्षदेखि गठबन्धन सरकारको जस्तो नियती भोग्नु परेको बताउनु भयो । प्रधानमन्त्री ओलीले पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि त्यसलाई रोक्ने प्रयास आफूले गरेको बताउनु भयो ।
पार्टीभित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर आफूले प्रयास गरेको भए पनि सफल नभएको उहाँले बताउनु भयो ।
सरकारले ल्याएका विधेयकहरु छलफलको नाममा अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने र भए सुनुवाई समितिमा अड्काउने काम भएको पनि उहाँले बताउनु भयो ।
प्रधानमन्त्री ओलीले आगामी वर्ष मुलुकमा १० प्रतिशत हाराहारीको आर्थिक वृद्धि हासिल हुने बताउनु भएको छ । संसारले नै नसोचेको कोभिड–१९ संकट आइपरेका कारण बिभिन्न मुलुकको आर्थिक गतिबिधि संकटमा पर्दा पनि नेपाल सरकारको सुझवुझ र नीतिगत स्पष्टताका कारण नेपाली अर्थतन्त्र मन्दीको चपेटामा नपरेको दाबी पनि उहाँले गर्नुभएको छ ।
आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो वर्ष ७ प्रतिशत र दोस्रो वर्ष त्योभन्दा माथिको आर्थिक वृद्धिदर हासिल भएको उहाँले बताउनु भयो।
कोभिड–१९ को महामारी नियन्त्रणमा आएसँगै नेपालको अर्थतन्त्र अब फेरि पुरानै लयमा फर्किन लागेको बताउनु हुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘पुनः उच्च आर्थिक वृद्धिको बाटो समाउने गरी अर्थतन्त्र चलायमान भएको छ, आगामी वर्ष १० प्रतिशत हाराहारीको आर्थिक वृद्धि हासिल हुने वातावरण बनेको छ ।’
प्रधानमन्त्री ओलीले सिंहदरवारस्थित भूकम्पपछि पुननिर्माण भएको प्रधानमन्त्री कार्यालयको आज उद्घाटन गर्नु भएको छ ।