काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (दाहाल–नेपाल समूह)का वरिष्ठ नेता झलनाथ खनाल भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् ।
नेपाल एयरलाइन्सको उडानबाट उनी आज दिल्ली प्रस्थान गरेका हुन ।
पारिवारिक स्रोतका अनुसार शरीर काँप्ने रोगको उपचारका लागि खनाल दिल्ली गएका हुन ।
उनी वरिष्ठ नेता रहेको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुको आन्दोलनलाई भारत, अमेरिका, वेलायत, चीनलगायतका देशको समर्थन चाहेको बताउँदै आएका छन् । दाहालले विशेषतः छिमेकी मुलुक भारतबाट आफूहरुले समर्थन चाहेको पटकपटक बताउँदै आएका छन् । खनालले दिल्लीमा भारतीय नेताहरुसँग भेटघाट गरेर समर्थन जुटाउने प्रयास गर्न सक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
भारत, चीनलगायतका मुलुकहरुले नेपालको पछिल्लो राजनीतिक अवस्थालाई नेपालको आन्तरिक मामिला भन्दै आएका छन् । तर दाहालले भने विदेशी हस्तक्षेप चाहनु रहस्यमय भएको र त्यसलाई गम्भीरताका साथ लिनुपर्ने राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।
श्रीमती रविलक्ष्मी चित्रकारलाई लिएर दिल्ली गएका खनाल सोमबार काठमाडौं फर्किने कार्यक्रम रहेको बताइएको छ।