काठमाडौं । नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा गण्डकी प्रदेशका भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा “शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार” भन्ने मूल नाराकासाथ श्री पश्चिम पृतना हे.क्वा. पोखरामा आयोजना भएको प्रदेश स्तरीय “भू.पू. सैनिक सम्मेलन–२०७७“ को बुधबार सम्पन्न भएको छ । विशेष समारोहकाबीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
गण्डकी प्रदेशका १० वटा जिल्लाहरुमा बसोबास गर्ने ९०७७ जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनहरुको सहभागिता रहेको उक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अवकाशप्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गर्नुहुँदै सो कार्यक्रमले भू.पु. तथा बहालवाला सैनिकहरुबीच सामिप्यता बढाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै सैनिक कल्याणकारी कोषका हिताधिकारीहरुको पिरमर्का सम्बोधन तथा व्यवस्थापनको लागि उत्तम माध्यमको रुपमा प्रभावकारी रहेको बताउनु भएको थियो ।
सम्बोधनकै क्रममा उहाँले “बहुजन हिताय बहुजन सुखाय” भन्ने आदर्श वाक्यलाई मनन गरी “नेपाली सेनाको कल्याणकारी कार्यसम्बन्धी दीर्घकालीन योजना २०८७” कार्यान्वयन भएको उल्लेख गर्दै नेपाली सेनामा विद्यमान कल्याणकारी सुविधाहरुलाई विकेन्द्रिकृत, पारदर्शी एवम् परिणाममुखी र आत्मनिर्भर बनाउँदै हिताधिकारीहरुको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, शीप र स्वरोजगार तथा सुविधा र सहुलियत समेत गरी चार “स” को आधारस्तम्भहरुमा आधारित कल्याणकारी कार्यक्रमहरु कार्यान्वयनको चरणमा रहेको समेत बताउनु भएको थियो ।
श्री पश्चिम पृतना हे.क्वा. विजयपुरमा संचालन भएको सो कार्यक्रममा जेष्ठ भूतपूर्व सैनिक ९६ वर्षका बाग्लुङ निवासी सिपाही मनिराज थापा र तत्कालिन भैरवप्रसाद गुल्मबाट अवकास प्राप्त सुवेदार हर्कबहादुर थापा मगरको श्रीमति वर्ष ९९ की नर कुमारी थापा मगरलाई सम्मान गरिएको थियो । सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल तनहुँ जिल्लाका जम. बोधराज शर्मा (अ.प्रा.) की श्रीमिति स्मृति शर्मा वाग्ले र गोरखा जिल्लाका प्रबन्ध हुद्दा चन्द्रसिंह बस्नेत (अ.प्रा.) लाई सम्मान गरिएको थियो ।
उक्त समारोहमा ४ वा सो भन्दा बढी सन्ततिहरुलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने १३ जना बुवा तथा आमाहरुलाई सम्मान प्रदान गर्नुका साथै फरक क्षमता भएका तथा असक्तहरुलाई ह्विल चेयर, बैसाखी र आर्थिक सहयोग तथा लघुबित्त कार्यक्रम अन्तर्गत महिला उद्यमशिल कर्जा प्राप्त गर्ने ऋणीहरुलाई चेक हस्तान्तरण गरिएको थियो ।
फेवा टि.भि. तथा सोही टि.भि.को युट्युव च्याल, फेसवुकबाट समेत प्रत्यक्ष प्रसारण भएको उक्त सम्मेलनमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपाल ईन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवम् अवकाशप्राप्त सैनिक तथा परिवारहरु र अन्य आमन्त्रित अतिथि तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सम्मेलनले अवकाशप्राप्त सैनिक व्यक्तिहरूको अवकाशपछिको जीवनमा थप उर्जा र शक्ति प्रदान गर्नुको साथै समाजमा योग्य नागरिकको जिवन यापन गर्दै सेनाप्रति सकारात्मक सोचको विकास एवं राष्ट्रिय एकतामा टेवा दिन थप उर्जा तथा हौसला मिल्ने विश्वास नेपाली सेनाले लिएको छ ।
https://youtu.be/XHvnThKWpaU