काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले आज आज राजधानीमा आयोजना गरेको सभाका अधिकांस वक्ताहरुले पशुपतिनाथको चर्चा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको दर्शन गरेको र मूर्तिको जलारी फेर्नका लागि रकम सहयोग गर्ने आश्वासनप्रति लक्षित गर्दै वक्ताहरुले आम हिन्दु समुदायको आस्थाको केन्द्र पशुपतिनाथको अपमान गरेर लाखौ हिन्दुहरुको आस्थामा चोड पुर्याएको भन्दै सामाजिक सञ्जालमा विरोध शुरु भएकोछ ।
यसैवीच सभामा सम्वोधन गर्दै सो समूहका अध्यक्ष पुष्पकमल दाहालले आजको सभामा पाँच लाख उपस्थित भएको र आवश्यक परे १० लाख जनताको उपस्थितिमा सिंहदरवार र बालुवाटार घेराउ गर्ने चेतावनी दिएका छन् । उनले सभामा भएको उपस्थितिलाई सर्वोच्च अदालत र निर्वाचन आयोगले हेर्नुपर्ने बताए । उनले आजको सहभागितालाई हेरेर अदालतको निर्णय गर्नुपर्ने दावी समेत गरे ।
अदालत र आयोगले आजको जनसहभागिता हेरेर निर्णय गर्नुपर्ने उनले तर्क गरे । दाहालले प्रतिनिधिसभा विघटनको पक्षमा अदालतले निर्णय दिएमा दुर्भाग्यपूर्ण हुने चेतावनी दिँदै लोकतन्त्र र जनताको पक्षमा फैसल नभए आँधी र हुरीको बेग आउने चेतावनी पनि दिएका छन् ।
चितवनमा राम मन्दिर बन्दा सबैभन्दा आफू सवैभन्दा खुशी हुने बताउँदै दाहालले पहिला राम जन्मेको अयोध्या यही हो भनेर प्रमाणित हुनुपर्ने बताए ।
नेकपाभित्रको लडाइ कुर्सीका लागि हो भन्ने जनताहरुको निचोडलाई इंगित गर्दै दाहालले आफूहरुलाई कुर्सी नचाहिएको तर जनताको अधिकार चाहिएको बताए ।
नेपाली कांग्रेसकै नेतृत्वमा निर्वाचन र संविधान जारी भएको बताउँदै दाहालले अहिले नेपाली काँग्रेसलाई अर्को अवसरमा आएको बताउँदै संयुक्त आन्दोलनका लागि कांग्रेस र जसपालाई आफूहरुसँग आउन आग्रह गरेका छन् ।
त्यसतै अर्का नेता माधवकुमार नेपालले आफूहरुले नेतृत्व गरेको पार्टी नै एमाले हो भन्दै ओलीले नेतृत्व गरेको पार्टी वीमाले भएको आरोप लगाए । अध्यक्ष ओलीले जननेता मदन भण्डारीको नाम विर्सेर अहिले पशुपति नाथको शरणमा गएको आरोप लगाउँदै उनले आधिकारीक नेकपा आफूहरु नै रहेको पनि बताए ।
त्यस्तै वरिष्ठ नेता झलनाथ खनालले जनताको आवाज सुन्नुको विकल्प नरहेको भन्दै आगामी निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीको जमानत जफत हुने टिप्पणी गरे । संविधानको रक्षा, लोकतन्त्र, गणतन्त्र र स्थायित्वको रक्षाका लागि आफूहरु संघर्षमा रहेको उनले दावी गरे ।
नेता नारायणकाजी श्रेष्ठ, रघुजी पन्त, जनार्दन शर्मा, देवप्रसाद गुरुङ, रामचन्द्र झा, जीवनराम श्रेष्ठ, भानुभक्त जोशी, अमृता थापामगर, अन्जना विसन्खे, मोहमद महफुस अन्सारी, रामकुमारी झाँक्री, सन्तकुमार चौधरीलगायतले सम्बोधन गरेका थिए ।