काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारी, सार्वजनिक जमीन अतिक्रमण गर्ने जोकोहीलाई अनुसन्धान गरेर कारबाहीको दायरमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
अख्तियारको ३०औं स्थापना दिवसको अवसरमा बोल्दै प्रमुख आयुक्त राईले सार्वजनिक भूमि व्यवस्थापन नेपालको सन्दर्भमा चुनौतीपूर्ण देखिएको छ । सरकारी सार्वजनिक जमिन अतिक्रमण गर्ने, खोला–खोल्सा तथा पर्ति जमीन ओगट्ने कार्य सह्य नहुने बताउनु भएको छ ।
‘सार्वजनिक पदाधिकारी वा उनीहरू जोडिएका जोसुकैलाई अनुसन्धान गर्ने र रोक्ने कार्य आयोगको प्राथमिकतमा रहने बताउनु हुँदै औषधिलगायतमा भएका भ्रष्टाचार सम्बन्धी थुप्रै उजुरी आयोगमा दर्ता भएको र त्यसलाई प्राथमिकता दिएर घुसखोरी र विचौलियालाई निगरानी गर्न विशेष टोली खटाइने बताउनु भएको छ ।
आयोगले छानविन तथा कारवाहीमा कसैप्रति विभेद नगरिएको स्पष्ट पार्दै प्रमुख आयुक्त राईले राज्यलाई अग्रगमनमा लग्ने प्रयास धेरै भएपनि अझै सन्तोषजनक काम हुन नसकेको स्वीकार्नु भएको छ । भ्रष्टाचार नियन्त्रण गर्नमा आयोग क्रियाशील रहने प्रतिवद्धता जनाउनुहुँदै प्रमुख आयुक्त राईले कानूनतः दण्डनीय काम गर्ने जोकोहीलाई कारवाही हुने चेतावनी दिनुभएको छ ।
सो अवसरमा उत्कृष्ट अनुसन्धानकर्तालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानित गर्नुभएको छ । उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा दुई जना र उत्कृष्ट अख्तियार सम्मानबाट १९ जना सम्मानित हुनुभएको छ ।