काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका सबै निकायका प्रतिनिधिहरु क्रियाशील भएमा मुलुकको भ्रष्टाचार अन्त्य गर्नमा सहज हुने बताउनु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले कानुनको नजरमा सबै बरावर भएकाले दोसीलाई कानुनअनुसार कडा कारवाही हुने बताउनु भएको छ ।
आयोगले गरेको सफलता सकारात्मक रहेको भएपनि आयोगले दायर गरेको मुद्दा फरक पर्ने गरी दायर गर्न नहुने बताउनुभएको छ । निर्दोष मान्छेमाथि मुद्दा दायर भएमा त्यसले प्रतिकूल असर पार्ने भन्दै त्यसप्रति आयोग सचेत हुनु पर्ने पनि बताउनु भयो ।
आयोगले निश्पक्ष भएर गहिरो ढङ्गले अध्ययन गरेर मुद्दा दायर गर्दा आयोगप्रति जनताको विश्वास थप बढ्ने वताउनु हुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अख्तियार दुरुपयोग आयोगको आँखा नपुगेको ठाउँ कँही छैन, त्यस्तो त्रास अपराधीमा पु¥याउनुपर्छ ।”
आयोगले अहिलेसम्म गरेको काम प्रसंशनीय भएको बताउँदै प्रधानमन्त्री ओलीले थप क्रियाशील भएर काम गर्न आग्रह गर्नुभएको छ । भ्रष्टाचार नियन्त्रण समाजलाई स्वच्छ राख्न, विकास प्रक्रियालाई स्वस्थ बनाउनलाई आवश्यक रहेको बताउनु हुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो “भ्रष्टाचार हाम्रो साझा शत्रु हो, त्यसप्रति हाम्रो शुन्य सहनशीलता छ, सहँदैनौं ।” आफूलाई भ्रष्टाचारबाट मुक्त राख्ने संकल्प सबैले गर्नुपर्ने बताउनु हुँदै उहाँले अरुलाई भ्रष्टाचारी हुन नदिनेगरी मनोभावना परिर्वत गर्नेतिर भूमिका खेल्नु पर्ने बताउनु भयो । सरकारले भ्रष्टाचार अन्त्यका लागि काम गरिरहेको पनि उहाँले प्रष्ट पार्नुभयो ।
भ्रष्टाचारमुक्त देश, सभ्य मानिस भएको देश, पारदर्शीता भएको देश भनेर नेपाललाई चिनाउन आवश्यक रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार अन्त्य गर्न, आयोगलाई सक्षम बनाउनका लागि सरकारको तर्फबाट सबै प्रकारको सम्भव सहयोग हुने बताउनु भएको छ । कर्तव्य पालनाको सन्दर्भमा कुनै त्रासबाट प्रभावित आयोग नहुने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।