काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारजन्य विषयमा छानविन गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निश्पक्षतालाई मूलमन्त्र बनाउनु पर्ने बताउनु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो आग्रह गर्नुभएको हो ।
भ्रष्टाचार नियन्त्रणमा सबै नागरिकको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताउनु हुँदै राष्ट्र«पति भण्डारीले भ्रष्टाचार नियन्त्रणका लागि सबैको साझा प्रतिवद्धताले नै मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिने बताउनु भयो । राष्ट्रपति भण्डारीले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेन भने राज्यका स्रोत दुरुपयोग भई राज्य प्रणालीलाई जर्जर बनाउँने बताउनु भयो ।
भ्रष्टाचारप्रति शुन्य सहनशीलता कायम गर्न सरकार तथा समग्र आमनागरिक त्यसमा लाग्न आवश्यक रहेको वताउनु हुँदै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रणमा राज्यले लिएको रणनीति प्रभावकारी कार्यान्वयन गर्नमा लाग्न आयोगलाई आग्रह गर्नुभयो ।