काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुग्नु भएको छ । प्रधानमन्त्री ओलीले निर्वाचनका लागि भइरहेको कामबारे जानकारी लिने र कुन कुन प्रदेशमा दुई चरणमा निर्वाचन गरिने भन्ने बारे आयोगलाई जानकारी गराउने उद्देश्यले उहाँ जानु भएको स्रोतको दावी छ ।
सो अवसरमा उहाँले आफू नेतृत्वको नेकपा नै आधाकारिक पार्टी भएको दाबी गर्ने पनि स्रोतले बताएको छ ।
यही माघ १६ गते आयोगले नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलाएको थियो ।
प्रचण्ड–माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरिसके पनि प्रधानमन्त्रीसमेत रहेका ओली भने जानु भएको थिएन ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गर्नु भएको थियो ।
यसैवीच सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला विभाजन गर्ने निर्णय गरेको बताइएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेका अनुसार मन्त्रिपरिषद् बैठकबाट पहिलो चरणमा १७ गते प्रदेश २, लुम्बिनी, कर्णाली र गण्डकीका ४० जिल्लामा र दोस्रो चरणमा २७ गते वाग्मती, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय भएको छ ।