काठमाडौं । चितवनको माडी अयोध्यापुरीमा राख्नका लागि राम र सीताको मूर्ति तयार भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि भनेर दाबी गरेपछि त्यहाँ राख्न कालीगढहरुले मूर्ति तयार गरेर प्रधानमन्त्री निवास बालुवाटारमा पुर्याएका छन् ।
लक्ष्मण र हनुमानको मूर्ति भने तयार हुन बाँकी रहेको बताइएको छ ।
केही दिनअघि चितवनको भरतपुरमा आयोजित जनसभामा पनि प्रधानमन्त्री ओलीले रामको मूर्ति तयार भइसकेको बताउनु भएको थियो ।
प्रधानमन्त्री ओलीले माडीमा आफैं गएर त्यसको प्राण प्रतिष्ठा गराउने बताइएको छ ।
तयार भएका मूर्ति प्रधानमन्त्री ओलीले शनिवार चितवनबाट विभिन्न समस्या लिएर डेलिगेसन आएको टोलीलाई समेत देखाउनु भएको थियो ।
टोलीमा राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति पार्वती रावल, भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली, माडी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शिवहरि सुवेदी लगायत थिए ।