काठमाडौं । प्रदेश १ प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । माघ ७ गते करिब ३ मिनेट बसेर स्थगित भएको प्रदेशसभा बैठक आज दिउँसो २:०० बजे बस्न लागेको हो ।
प्रदेशसभा बैठक बस्नु अघि आज बिहान ११:०० बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।
प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले सभामुखले आइतबार दिउँसो २:०० बजे प्रदेशसभा बैठक बोलाउनुभएको र त्यसका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आज ११:०० बजे बोलाउनुभएको जानकारी दिनुभयो ।
प्रदेशसभा बैठकमा नेकपा दाहाल–नेपाल समूहले दर्ता गराएको मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुन् सक्ने बुझिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दुई समूहमा विभाजित भएपछि प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा बस्न लागेको प्रदेशसभा बैठक कसरी अघि बढ्छ भन्ने सबैको चासोको विषय बनेको छ ।
प्रदेश–१ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहका १६ जना सांसदलाई नेकपाको ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ ।