काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता र मुलुकको स्थायित्वका लागि नयाँ जनादेशमा जाने निर्णय सरकारले गरेको बताउनु भएको छ । काम गर्न नदिने अनि सरकारले काम गरेन भन्ने भ्रम फैलाउनेहरु विरुद्ध जनताको ताजा जनादेश लिन निर्वाचनमा जाने निर्ण भएको उहाँले स्पष्ट पार्नु भयो ।
नेकपा बागमति प्रदेशद्वारा आज दरवारमार्गमा आयोजित बृहत आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले आमसभाको उपस्थितिले मूल पार्टी कुन हो भन्ने प्रमाणित भएको बताउनु भयो । कसैकसैमा रहेको भ्रम आजको उपस्थितिले तोडिदिएको बताउनु हुँदै प्रधानमन्त्री ओलीले देशको सार्वभौमसत्ताको रक्षा, स्वाधिनताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, मुलुकको समृद्धि, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने पार्टी नेकपा नै भएको बताउनु भयो ।
सर्वोच्च अदालत, निर्वाचन अयोगलाई उहाँ (प्रचण्ड–माधव नेपाल) हरुले धम्की दिनु गलत भएको बताउँदै प्रधानमन्त्री ओलीले ती संस्थाले स्वतन्त्रतापूर्वक विवेकसम्मत ढङ्गले निर्णय गर्न पाउने बताउनु भयो । अब चुनाव कसैले रोकेर नरोकिने बताउँदै सबैचिजको फैसला चुनावले गर्ने बताउनु भयो ।
आजको आमसभा विथोल्न हिजो तथाकथित नेपाल बन्द गरिएको बताउँदै प्रधानमन्त्री ओलीले श्रमजीविलाई काम गर्न नदिने, तरकारी सडकमा फ्याँकिदिने, गरिब ट्याक्सीवालालाई झुक्याएर आगो लगाउने जस्ता घृणित काम गरेर कसको लागि राजनीतिक गरेको भन्ने प्र्रश्न गर्नु भएको छ ।
अब नेपालमा कसैले हिंसा मच्चाउन नसक्ने भन्दै प्रधानमन्त्री ओलीले कसैले नरभक्षी आन्दोलन चलाउँछु भनेर नसोचे हुने चेतावनी दिनुभयो ।
गरिवलाई हेर्ने सरकार भएकाले बन्दको बहानामा गरिएको गरिबको नोक्सान सरकारले क्षतिपूर्ति दिने पनि बताउनु भयो । आजको सभामा सहभागिहरुलाई रोक्न नेपाल बन्द गरेर जनतालाई तर्साउन खोजियो, बाटामा खाल्डा खन्ने काम भयो, बाटामा बम राखेर विप्लव लेख्ने काम भएको बताउँदै प्रधानमन्त्री ओलीले गरेका कामको जिम्मेवारी लिने हिम्मत गर्न प्रचण्ड–नेपाललाई चुनौती पनि दिनुभयो ।
आफूले गरेको कामको जिम्मेवारी लिन नसक्ने अनि क्रान्तिकारीको ठूलो नारा लगाउने ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले इतिहासमै कहिल्यै नभएको जनसभा आज काठमाडौंमा भइरहेको दावी गर्नुभयो ।
देश र जनताको पक्षमा सरकारले निरन्तर काम गरिरहने प्रतिवद्धता जनाउनु हुँदै प्रधानमन्त्री ओलीले मुलुकको कुनै पनि नागरिक बेसहारा नहुने प्रष्ट पार्नु भयो ।
‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने मुल लक्ष्य साथ सरकारले काम गरिरहेकाले केही तत्वहरु त्यही हुन नदिन विभिन्न बहानामा अवरोधको प्रयास गरिरहेको वताउनु हुँदै प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम रेलको बाटो शुरुभएको र चाँडै नेपालको पूर्व–पश्चिम रेल सञ्चालन हुने बताउनु भयो ।
भारत र चीनतर्फबाट नेपालमा रेल गुडाउने सहमति भएको वताउनु हुँदै प्रधानमन्त्री ओलीले काठमाडौंदेखि केरुङ पुग्न एक घण्टामा पुग्ने राम्रो बाटो बनाइने र नेपाललाई सुरुङमार्गमा प्रवेश गराइएको बताउनु भयो ।
युवालाई स्वदेशमै रोजगारको कार्यक्रम बनाएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशमै उद्योग, कलकारखाना सञ्चालन गरेर युवालाई विदेश जान नदिने वातावरण निर्माण भइरहेको छ ।”
सामाजिक सुरक्षा भत्तामा बृद्धि गर्ने र काम गरेबापत सबैका लागि पेन्सनको व्यवस्था मिलाउने काम सरकारले गरिरहेको वताउनु हुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनवाद ल्याउने सुन्दर सपना देखाएर युवालाई लडाइयो, तिनीहरु आज पीडित छन्, सबैको हेरचाह गर्न सरकारले समिति बनाएर काम गरिरहेको छ ।”
देशलाई भ्रष्टाचारमुक्त बनाई छाड्ने लक्ष्य आफूले लिएको वताउँदै प्रधानमन्त्री ओलीले विभिन्न बहानामा त्यसलाई भड्काउने प्रयास भइरहेको बताउनु भयो । तर त्यसलाई सफल बनाएरै छाडिने पनि बताउनु भयो । नेपाली भूभागसहितको पछिल्लो राजनीतिक तथा प्रशासनिक नक्सा छापिएपछि मलाई हटाउने अभियान केही तत्वहरुले शुरु गरकोे पनि बताउनु भयो ।
दुई–चारजना मान्छे पार्टी छाडेर जाने वित्तिकै संवैधानिक आयोगले पूर्णता पाएको स्मरण गर्दै यसअघि काम गर्न नदिएर समस्या भएको बताउनु भयो । आयोगले पूर्णता पाएको भोलिपल्टै नेपाल बन्द गरेर ती तत्वहरु जनताको पक्षमा नरहेको स्पष्ट भएको उहाँले बताउनुभयो ।
जनताको सचेत सोच र निर्णयप्रति धन्यवाद व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, जनताको बल र शक्तिले नै नेपाललाई समृद्ध बनाई छाड्ने बताउनुभयो ।
त्यस्तै प्रधानमन्त्री ओलीले नेपाली जनता सचेत भइसकेकाले लोकतन्त्र कसैले भाँड्न नसक्ने पनि बताउनुभयो । कसैले मुलुकको लोकतन्त्रमाथि कड्के नजर नलगाए हुने चेतावनी दिँदै उहाँले जनताले अब प्रतिगमन नसहने बताउनुभयो ।
मुलुकको स्वाधिनता, स्वाभिमान, सार्वभौमसत्ता, लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफूहरु लागिपरेको उहाँले बताउनुभयो ।
“बेलायतमा लिखित संविधान छैन, तर त्यहाँको प्रधानमन्त्रीले संसद विघटन गर्न सक्छ, सरकारले संविधानलाई टेकेर प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशमा जाने निर्णय गरेको हो” उहाँले भन्नुभयो ।
फेरि लोडसेडिङ हुन्छ भन्ने भ्रम फैलाउने काम भएको वताउनु हुँदै उहाँले जनताहरु ढुक्क भए हुन्छ, अब लोडसेडिङ हुँदैन, विजुलमा आत्मनिर्भर मात्र होइन, बिक्री गर्ने ठाउँमा पुगेको बताउनु भयो ।
पर्वतको फलाम खानीबाट निस्किने फलामबाट स्टिल र फलाममा आत्मनिर्भर हुन सकिने वताउनु हुँदै प्रधानमन्त्री ओलीले जाजरकोटको तामाखानी, दैलेखबाट पेट्रोल, वैतडीबाट फोस्फोरसको खानीको उत्खनन्को काम भइरहेको बताउनुभयो ।
सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्थायी समिति सदस्य सत्यनारायण मण्डलले मन्तव्य राख्नु् भएको थियो ।