काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज काठमाडौंको दरवारमार्गमा निर्वाचनको पक्षमा जनमत बनाउन शक्ति प्रदर्शन गरेको छ । राजधानीमा विभिन्न ठाउँबाट शुरु भएको जुलुस सभास्थल नारायणहिटी पुगिसकेको छ । सभामा उत्साहपूर्ण सहभागिता देखिएको छ ।
जनसभा अगाडि काठमाडौँ उपत्यकाका बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एअरलाईन्स अगाडि, त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोड, टेकु, बसन्तपुर, सोह्रखुट्टे, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका स्थानबाट र्याली निकालिएको थियो।
काठमाडौंका साथै बागमती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थक सहभागी भएका छन् ।
प्रतिनिधिसभा विघटन भइ निर्वाचन घोषणा गरिएको नयाँ परिस्थिति, नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन जनसभाको आयोजना गरिएको बागमती प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिएका छन् । जनसभालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटि सदस्य सत्यनारायण मण्डले सम्वोधन गर्दैछन् ।
नेकपा बागमति प्रदेश स्तरीय आमसभाले नागरिकमा निर्वाचनबारे सन्देश प्रवाह गर्ने विश्वास सो दलले गरेको छ ।