काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको आज गरेको आमहड्तालमा सवारीसाधन आवागमनमा अवरोध गरेको छ ।
सो समूहको ‘हाई कमाण्ड’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपालको आदेशमा कार्यकर्ताले सवारी साधान चल्न दिएनन् भने चलेका सवारी साधान तोडफोड, आगजनी गरेका छन् । तर, तिनै हाइकमाण्ड भन्नेहरुले भने सवारी साधान चढेर हड्तालको अनुगमन गर्न र सहभागिता जनाउन सडकमा पुगेका छन् ।
प्रचण्ड गाडी चढेरै सातदोवाटो, कोटेश्वर, पुलचोक लगायतका क्षेत्रमा पुगेका थिए भने माधव नेपाल स्कुटर चढेर कोटेश्वर पुगेका थिए ।
प्रचण्ड बा १७ च ३०७१ नम्बरको प्राडो चढेर आएका थिए भने उनका अगाडि–पछाडि सुरक्षाकर्मीका गाडी पनि थिए ।
अर्का अध्यक्ष माधवकुमार नेपाल कार्यकर्ताले हाँकेको बा ५२ प ५८१४ स्कुटर चढेर कोटेश्वर चोक पुगेका थिए।
गाडी चढेर घुमेका प्रचण्ड पुल्चोकमा पुगेर सडकमा बसेर चिउरा खाएको र केहीबेर नाराबाजीमा सक्रिय भएएको सेतोपार्टीले खिचेको भिडियो सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले सेयर गर्दै उनको आलोचना गरेका छन् । नारावाजीका क्रममा एमसीसी चाहिदैन भन्दै कार्यकर्ताले नारा लगाएका थिए । अरु नारामा हात हल्लाइहल्लाइ समर्थन गरेका प्रचण्ड एमसीसी चाहिदैन भन्दा खत्र्याकखुत्रुक भएको भिडियोमा देखिन्छ ।
अरूलाई गाडी चलाउन नदिने, चलाएकाहरु पनि जलाउने, तोडफोड गर्ने अनि आफू चाहिँ गाडी चढ्न मिल्छ ? भन्ने प्रश्न गर्दै उनको चर्को आलोचना भएको छ । उनीहरुकै कार्यकर्ताहरु समेत नेताहरु गाडी चढेर आएकोमा आश्चर्य व्यक्त गरेका थिए । आफ्नै नेताहरु गाडी चढेर आएपछि अरुलाई कसरी रोक्नु भन्दै उनीहरु खासखुस गर्दै थिए ।
प्रचण्डले केही दिनअघि भाषण गर्दै ‘ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट फाल्न शाकाहरी आन्दोलनले पुग्दैन’ भन्ने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिपछि कार्यकर्ता उत्तेजित भएका छन् ।
बिहीवार विहानै प्रचण्ड–माधवका शान्तिपूर्ण हडतालकारीले एक ट्याक्सी जलाए, एम्बुलेन्स तोडफोड गरे, ट्रकमा आगजनी गरे र तरकारी किसानमाथि आक्रमण गरेका दृश्यहरु सामाजिक सञ्जालमा आएका छन् ।