काठमाडौं । संवैधानिक निकायमा भएको नियुक्ति लगायतका विषयलाई लिएर आज नेकपा (दाहाल–नेपाल समूह)ले गरेको देशव्यापी आमहड्तालको ठाउँठाउँमा अवज्ञा भएको छ । आमहड्तालको उपत्यकामा प्रभाव कम परेको छ भने उपत्यका बाहिर धेरै ठाउँमा बन्द भएको छ ।
बन्दलाई सफल बनाउन भन्दै सो समूहका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु सडकमा निस्किएका छन् । कार्यकर्ताको न्यून उपस्थिति भएपछि शीर्ष नेताहरु आफै सडकमा निस्किएको एक नेताले बताए ।
सडकमा बन्दकर्ताको खासै सहभागिता नभए पनि माओवादीको विगतको हिस्रंक छवीका कारण सर्वसाधरणमा मनोवैज्ञानिक त्रास देखिएको पाइएको छ । बिहान सवारी साधान कम चलेपछि विस्तारै बढ्दै गएको प्रहरीले जनाएको छ । बिहानै काठमाडौंको सामाखुसीमा बन्दकर्ताले एउटा ट्याक्सीमा आगजनी गरेका थिए भने केही ठाउँमा तोडफोड गरेका छन् ।
सडकमा अवरोध गर्न खोज्न झण्डै ९० जनालार्ई उपत्यकाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएकोछ ।
राजधानी बाहिर विराटनगर, हेटौंडा, नारायणगढ, वुटवल लगायतका क्षेत्रमा सञ्चालित सवारी साधन तथा ट्रकमा ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ ।
उपत्यकामा माइक्रोबस लगायतका सार्वजनिक सवारी साधनमा प्रहरी खटाइ सुरक्षा दिइएको र केही सार्वजनिक यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । निजी मोटरसाइकल, टेम्वोहरु भने मनग्गै चलेका छन् । उपत्यकाका अधिकांस ठाउँमा पसलहरु खोलिएको छ ।
सडकमा गुडेका सवारी साधान र खुलेका पसलहरुले अब जोसुकैले जसुकै वहनामा पनि गर्ने बन्द, हड्ताल स्वीकार्य छैन भन्ने सन्देश दिएको देखिन्छ ।