काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले रोक्न छेक्न खोजेपनि सरकार विकास निर्माणमा अघि बढिसकेको बताउनु भएको छ । समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक पार्न सरकार अघि बढेको बताउँदै पार्टीभित्र उपद्रो मच्चाउने केही व्यक्तिले छोड्दैमा पार्टी र सरकार कमजोर नहुने पनि बताउनु भएको छ ।
नेपाल विद्युत प्राधिकरणद्वारा आज आयोजित ढल्केबर सब स्टेशन उद्घान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले दुईचार जना विकास बिरोधीहरु गएपछि बल्ल काम गर्ने वातावरण बनेको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले आफूलाई राष्ट्र, राष्ट्रियता र विकासप्र्रेमी तीन करोड जनताको साथ रहेको पनि बताउनु भएको छ ।
चुनाब तोकिएकै मितिमा हुने स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले सवैलाई त्यसको तयारी गर्न आग्रह गर्नुभएको छ । भावनामा नवगी देश बनाउनु पर्ने वताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईहरुले सुन्नुभएको छ, केपी ओली मधेश बिरोधी हो भनेर प्रचारपनि गरियो, आज उसैले तराईमा ढल बनाएको छ, बाटो बनाएको छ, खेतमा सिँचाइ पुरयाएको छ, मधेशको विकासमा लागेको छ, अनि कसरी मधेश बिरोधी भयो ? हामी भावनामा बगेर हुँदैन ।”
उर्वर भूमि मधेशको विकास त सम्भव रहेछ, हिजो किन भएन ? भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “तराईमा पनि ढल चाहिन्छ भन्ने कतिपयलाई लागेकै थिएन तर हामीले त्यो गरेर देखायौं । अब नयाँ ढंगले देश विकास गर्नमा अघि बढनुपर्ने छ ।”
तराईमा पनि ढल निर्माण, पूर्व–पश्चिम राजमार्ग फराकिलो गर्ने काम शुरु भएको उहाँले चर्चा गर्नुभयो । सरकारले पूर्व–पश्चिम रेलको पनि छिटै शिलन्यास गरिने उहाँले बताउनुभयो ।
मरिन डाइभर्सन निर्माणको काम पनि छिटै शुरु हुने र तराईमा सिंचाई तथा विजुली दुवैको लाभ हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । व्यवस्थित शहरको विकास, कृषिको आधुनिककरणमा पनि सरकारले ध्यान दिएको उहाँले प्रष्ट पार्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले पशुपतिमा जलारी राख्ने कुराको विवादबारे टिप्पणी गर्दै भन्नुभयो “मैले पशुपतिमा १ सय १ किलोको सुनको जलारी हालिदिने भए । परम्परा बिग्रिने भयो रे ? चाँदीको मात्रै हाल्नुपर्ने थियो रे, मैले सुनको हालिदिने भए । परम्परा बिग्रियो भन्ने समाचार लेख्नेलाई मेरो प्रश्न छ, तपाईका हजुरबा हलो जोत्नुहुन्थ्यो तपाई किन पत्रकारिता गर्नुहुन्छ ? मेरो बुवापनि प्रधानमन्त्री हुनुभएको थिएन, मैले त परम्परा तोडेरै प्रधानमन्त्री बने ।” राम्रो कामका लागि परम्पराहरु तोडनुपर्ने तर्क गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “पछौटेकुरा भत्काइन्छ, नयाँ कुराहरु अगाडि बढाइन्छ ।”
सरकारको प्रमुख लक्ष्य नै देशको समृद्धि भएकाले झिनामसिना अवरोधले केही फरक नपर्ने बताउँनु हुँदै उहाँले देशलाई डिजटलाइज्ड गर्ने र देशलाई अघि बढाउने सन्दर्भमा ढल्केबर सवस्टेशनको निर्माण सम्पन्न भई उदघाटन गरिएको बताउनुभयो । विजुली उत्पादनमा नेपालले फड्को मारिरहेको उहाँले बताउनुयभो ।
विकासले सबैलाई फाइदा पुग्ने वताउँदै उहाँले कुन्तिमोक्तानको गीत स्मरण गर्नुभयो “म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर” । प्रधानमन्त्रीले भन्नुभयो, “काममा जति अवरोध गर्ने प्रयास गरेपनि विकासको काम रोकिदैन, सरकारले काम गर्छ ।”
सन् २०२१ मै देश र दुनियाँबाट कोभिड १९ पराजित हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रणका लागि सरकारले खोप शुरु गरेको बताउनु भयो । उहाँले कोभिड १९ संक्रमण हटिनसकेकाले अझै सजग रहन सबैमा आव्हान गर्नुभयो ।