काठमाडौं । नेपालकै ठूलो क्षमताको ढल्केबर विद्युत सबस्टेसन आज उद्घाटन गरिएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ढल्केबर सबस्टेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभएको हो ।
हाल सञ्चालनमा रहेका नेपालका सबस्टेशनमध्ये यो सबैभन्दा ठूलो भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
देशभित्र नै पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर सबस्टेशन ठूलो हब बनेको छ । हाल ढल्केबरमा एक सय ६० एमभीएका दुई र तीन सय १५ एमभीएको एक गरी ६ सय ३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ ।
कूल ४ सय र २ सय २० केभी क्षमताको सबस्टेशनमा तीन सय १५ एमभीए क्षमताका तीन वटा गरी ९ सय ४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९ सय मेगावाट विद्युतलाई प्रसारण गर्न सक्छन् ।
सवस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यसअघि सरकारको नेतृत्व गर्दा देशमा १८ घण्टा लोडसेडिङको अवस्था रहेको स्मरण गर्नु भयो । फर्पिङबाट विजुली उत्पादन शुरु गरेको एक सय ११ वर्ष भएपनि विभिन्न कारणले नेपाल अँध्यारै रहेको वताउँदै प्रधानमन्त्री ओलीले केही वर्षयता नेपालले उर्जामा ठूलो फड्को मारेको बताउनु भयो ।
पछिल्लो पटक २०७४ फागुन ३ गते आफू प्रधानमन्त्रीको जिम्मेवारीमा पुनः आएपछि २०७५ जेठबाट लोडसेडिङमुक्त देश बनाएको वताउँदै वर्षा याममा उत्पादन हुने विजुली खपत गर्न नसक्दा खेर गइरहेको चर्चा गर्नु भयो । उहाँले अब विजुली विक्री गर्ने अवस्थामा नेपाल पुगेको बताउनु हुँदै भारत र बंगलादेशलाई विजुली विक्री गर्ने तयारी भएको बताउनुभयो ।
कार्यक्रममा उर्जामन्त्री टोपबहादुर रायमाझीले यस्तो क्षमताको सवस्टेशन निर्माणले विद्युत आयात निर्यातमा सहज हुने बताउनुभयो । नेपालमा उत्पादन हुने बढी विजुली यही ट्रान्समिसन लाइन मार्फत विजुली निर्यातमा सघाउ पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
भारत, चीन र बंगलादेशमा नेपालमा उत्पादित विजुली निर्यात गरी ठूलो धनराशी आर्जन गर्नसक्ने बाटो खुला रहेको मन्त्री रायमाझीले बताउनुभयो । आगामी दिनमा नेपालमा उत्पादित विजुली खपतका लागि अत्याधुनिक ट्रान्समिसन लाइनको विकास गर्न आवश्यक रहेको बताउनु हुँदै मन्त्री रायमाझीले थप ट्रान्समिसन लाइन निर्माणको क्रममा रहेको जानकारी दिनुभयो ।
सो अवसरमा सवस्टेशन निर्माणमा सहयोग गर्ने विभिन्न संघ संस्थाका पदाधिकारीहरुलाई प्रसंशापत्र वितरण गरिएको थियो । प्रधानमन्त्री ओलीले सबैलाई प्रसंशा वितरण गर्नुभयो ।
सो अवसरमा शहरी मन्त्री प्रभु साह, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पनि सहभागिता थियो ।