काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव–प्रचण्डलाई काम नगरी मह खान पल्केको डाँठ मौरीको संज्ञा दिनुभएको छ । काठमाडौँमा नेकपा निकट नेपाल ट्रेड युनियन महासङ्घको राष्ट्रिय कार्यकर्ता भेलालाई संवोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी डाँठ माउरी जस्ता हैनौँ कर्मी मौरी हौँ, हामी देश बनाउन लागेका छौ, उहाँहरू मुद्दा हालेर बस्नुभएको छ ।’
प्रधानमन्त्री ओलीले आफूहरू जीवनभर सूर्य चिन्हका लागि लडेको भन्दै प्रचण्डले सूर्य चिन्ह माग्नु हास्यास्पद रहेको बताउनुभयो । एक पटक सूर्य चिन्हमा छाप नलगाएका प्रचण्डले सूर्य चिन्ह मेरो भन्नु हाँस्यास्पद भएको बताउनु भयो ।
आफ्नो पार्टी भाडाका घरमा रहेको वताउँदै निजी नै भए पनि पेरिस डाँडामा आँखा नलगाउने बताउनु भयो ।
चितवनमा जनतालाई प्रणाम गरेर भोट हाल्न लगाएर प्रचण्ड चुनाव जिताएको स्मरमण गर्दै प्रधानमन्त्री ओलीले अब उनले चुनाव लड्ने ठाउँ समेत नहुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘ ७४ सालमा प्रचण्डलाई जनतालाई प्रणाम गरेर चितवनमा हामीले जिताएको हो । ७० मा बत्ती निभाएर बाकस साटेर जित्नुभयो । त्यो भन्दा अगाडि कीर्तिपुर हारिसक्नु भएको थियो । कहिले रोल्पा, कहिले सिराहा, कहिले कीर्तिपुर जानुभयो अब जाने ठाउँ कतैपनि छैन ।’
प्रचण्डको चटकबाट नअल्झिएको एउटा मात्र सङ्गठन भनेको जिफन्ट रहेको बताउनु हुँदै प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतामा जानबाट रोक्न प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने निर्णयमा सरकार गएको बताउनुभएको छ ।
अराजनीतिक तथा अराजक प्रबृत्ति अहिले किनारा लागेको बताउनुहुँदै ओलीले पार्टीभित्र शुद्धीकरणको काम भएको पनि बताउनुभयो ।
सरकारलाई काम गर्न नदिने अहिलेका नेता नै विगतको आफ्नो नेतृत्वको सरकार ढालेको पनि प्रधानमन्त्री ओलीले स्मरण गर्नु भएको छ । ओली छिटो मर्ला र खाउँला कुरेर बसेकाहरु भ्रममा रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भर्खर त आफ्नो बुवा बुढो हुन थाल्नुभएको छ, म त अहिले जवान नै छुँ भन्दै मर्ला र खाउँला भन्ने नसोचे हुने चेतावनी पनि दिनुभयो ।
‘जङ्गलमा आफू (प्रचण्ड) बस्नुभएको छैन, लडाकुलाई बसाउनुभयो’ भन्दै प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘आफू (प्रचण्ड) त दिल्ली लखनउमा जेलवाला तेल लगाएर जुल्फी कोरेर बस्नुभयो ।’
‘प्रचण्डहरुलाई समाजवाद आइसक्यो, परिवार आफन्तले सबै सुख सुविधा प्राप्त गरिसके पनि जनयुद्धमा लडेका लडाकु, घाइते, अङ्गभङ्ग भएका पीडितकालागि समाजवाद आउन बाँकी छ’ भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीलाई र नेपाली जनताका लागि भने समाजवाद आउन बाँकी रहेको छ, त्यसका लागि हामी संघर्ष गरिरहेका छौं ।”
सरकार देश र जनताको पक्षमा काम गरिरहेकाले देशहित नचाहने तत्वहरु सल्बलाएको टिप्पणी गर्नुहुँदै प्रधानमन्त्री ओलीले जस्तोसुकै कठिन परिस्थितिमा पनि देश र जनताको पक्षमा सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । युवालाई रोजगारी दिन सरकारले उद्योग कलकारखानादेखि अन्य रोजगारमुलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनु हुँदै नेपालमा मजदुर आन्दोलनलाई केहीले विभाजित गर्ने प्रयास भएको टिप्पणी गर्नु भएको छ । अध्यक्ष ओलीले मजदुरलाई सही दिशा देखाएर एकतावद्ध बनाउनुपर्ने पनि बताउनुभयो ।
पालिकास्तरमा ग्रामीण औद्योगिक क्षेत्र घोषणा गर्ने सरकारले तयारी गरेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले हाम्रो उद्योग, उत्पादन र निर्यातबाट देशमा समृद्धि कायम गर्ने बताउनुभयो । देश बनाउने सरकारको अभियानमा सबै नेपालीले साथ दिनुपर्ने उहाँले आग्रह गर्नुभयो । सरकार समानता र सम्मानको पक्षमा काम गरिरहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरीले सुरक्षित वातावरणको सुनिश्चित नहुँदा सम्म सरकारले खाडी मुलुकहरूमा घरेलु कामदार नपठाउने बताउनु हुँदै कामदार लैजानु अगाडि सुरक्षाको सुनिश्चित गर्न विभिन्न देशहरूसँग छलफल भइरहेको बताउनुभयो ।
मन्त्री चौधरीले वैदेशिक रोजगारीमा सिपयुक्त जनशक्ति मात्रै पठाउने लक्ष्यका साथ सरकारले सबै प्रदेशमा तालिम केन्द्रहरू स्थापना गर्ने लागेको समेत जानकारी दिनुभयो ।