काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडेनको सन्देश राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुनाइएको छ । नेपालस्थित अमेरिकी राजदूत रेन्डी बेरीले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर अमेरिकामा नयाँ राष्ट्रपतिले कार्यभार सम्हालेपछि सो मुलुकको नयाँ नेतृत्वको सन्देश दिएका छन् ।
राष्ट्रपति भण्डारीसँगको भेटमा अमेरिकाका नयाँ प्रशासनले आफ्नै देशभित्र र अन्यत्रसमेत प्रजातन्त्रको सुदृढिकरण गर्न र महिला तथा बालबालिकाको अधिकारका लागि कसरी थप सशक्तताका साथ काम गर्नेछ भन्ने सन्देश दिएको बताइएको छ ।
राजदूत वेरीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए भने सोमवार नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । नेताहरुसँको भेटमा उनले अमेरिकाको नयाँ प्रशासनले अवलम्बन गर्ने नीति र प्राथमिकताबारे जानकारी गराएको बताइएको छ ।