काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपांगता भएका सहाराविहीनहरु व्यक्तिहरुको साथमा सरकार रहेको बताउनु भएको छ ।
आज काठमाडौँमा आयोजित अपांगता भएका व्यक्तिहरुसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले अपांगता भएका व्यक्तिको जीवनका समस्याका विषयमा सरकारले आवश्यक काम अगाडि बढाउने बताउनु भएको छ ।
आफै सक्षम नभएका व्यक्तिहरुका लागि सहयोग आवश्यक हुने बताउँदै प्रधानमन्त्री ओलीले सरकारले सहयोग गर्ने बताउनु भएको छ ।
देशमा सबैले सुरक्षित र सम्मानित ढंगले बाँच्न पाउनुपर्ने बताउँदै उहाँले देशको रक्षादेखि सुशासन कायम गर्नु र जनताको समस्याको पहिचान गरी समधान दिनुसम्म सरकारको काम भएको बताउनु भएकोछ ।
आफू पनि अपांग नै भएका बताउँदै प्रधानमन्त्री ओलीले अर्काको किड्नीको बैशाखी टेकेर आफू हिँडेको बताउनु भयो । अपांगता भएका व्यक्तिहरुलाई हरेस नखान आग्रह गर्दै प्रधानमन्त्री ओलीले आफूले दुई पटक मिर्गौला फेरेर पनि अझै देश र जनताका लागि केही गर्न लागि परेको बताउनु भयो ।
शारीरिक रुपमा भएको अशक्तता भन्दा मानसिक दरिद्रता खतरनाक हुने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले साहित्यकार तथा लेखक झमक घिमिरेको उदाहरण दिँदै अपांगता भए पनि चेतनाले धेरै काम गर्न सकिने बताउनु भयो ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे बोल्दै प्रधानमन्त्री ओलीले वाह्य उक्साहटमा सरकारलाई घेराबन्दी गरेर काम गर्न नदिएपछि प्रतिनिधिसभा विघटन गर्नु परेको स्पष्ट पार्नुभएको छ । उहाँले ताजा जनादेशका लागि जनतामा जाने निर्णय कसरी निरंकुस हुन्छ भन्ने प्रश्न गर्दै कसले राम्रो काम गरेको छ भन्ने फैसला जनताले गर्ने बताउनु भएको छ ।
वैशाख हुने निर्वाचनमा जनताले अराष्ट्रवादी, जनघाती, विकासविरोधीहरुलाई ठेगान लगाइदिने कुरामा आफू विश्वस्त रहेको पनि बताउनु भएको छ ।