काठमाडौं । नेकपा (दाहाल–नेपाल) पक्षले आज राजधानीमा प्रदर्शन गरेको छ । देशभरबाट उपस्थित नेता, कार्यकर्ता र जनताको सहभागितामा आयोजित र्यालीपछि सभामा सम्वोधन गर्दै सो समूहका अध्यक्ष पुष्पकमल दाहालले जनतासँग गरेको बाचाअनुसार काम गर्न नसकेको भन्दै आत्माआलोचना गरेका छन् ।
गत निर्वाचनको चुनावी घोषणापत्रमा गरिएको प्रतिवद्धता पूरा हुन नसकेको स्वीकार गर्दै तीन वर्षमा पार्टीको आन्तरिक समस्याले जनताको काम गर्न नसकिएको बताएका छन् ।
नेपाली जनता शान्ति, संविधान, लोकतन्त्र, विकास र समृद्धि चाहेकाले त्यसकालागि आफूहरुले काम गर्ने प्रतिवद्धता जनाउँदै दाहालले प्रतिनिधिसभा पुनस्र्थापना हुनेमा आफूहरु ढुक्क रहेको बताए । अदालतप्रति आफुहरुको पूर्ण भरोसा रहेको बताउँदै अध्यक्ष दाहालले अदालतले प्रधानमन्त्री केपी ओलीको कदम नसच्याए लाखौ जनता सडकमा उतार्ने चेतावनी दिएका छन् । अदालतले जनभावनाको कदर गर्नुपर्ने वताउँदै दाहालले आफ्नो पक्षको आन्दोलनमा आएकै कारण कुनै कर्मचारीलाई कारवाही भएमा त्यसको हिसावकिताव गरिने चेतावनी दिएका न् ।
त्यस्तै सो पक्षका अर्का अध्यक्ष माधवकुमार नेपालले संविधानविरोधी सरकारी कदमका विरुद्धमा आफुहरु सडकमा ओर्लेको बताए । संविधान, लोकतन्त्र र स्थायीत्वमाथि प्रहार भएको वताउँदै उनले आजको शक्ति प्रदर्शन कास्टिङमात्र भएको, र फिलिम देखाउन अझै बाँकी नै रहेको दावी गरेका छन् ।
त्यस्तै नेकपा वरिष्ठ नेता झलनाथ खनालले जनआन्दोलनबाट प्राप्त उपलब्धी जोगाउन आफूहरु पुनः सडक आन्दोलनमा उत्रेको बताए । देशलाई अस्थिरताबाट जोगाउन सडकमा आउनुपर्ने बाध्यता भएको बताउँदै उनले न्यायालय संविधानभन्दा बाहिर गएर व्याख्या विश्लेषण नगर्ने बताए ।
त्यस्तै पूर्व कृषिमन्त्री तथा युवा नेता घनश्याम भुषालले संविधानविद तथा कानुन व्यवसायी सबैले प्रतिनिधिसभा विघटनको विरोध गरिररहेको वताउँदै सरकारले घुँडा नटेकेसम्म आन्दोलनबाट विश्राम नलिइने बताए ।