काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई दिनु भएको छ । राष्ट्रपति भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना पनि गर्नु भएको छ । उहाँले कोभिड–१९ महामारीको समयमा बाइडनको कार्यकाल सफल रहोस् भन्ने कामनासमेत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले अमेरिकी समकक्षी कमला ह्यारिसलाई बधाई सन्देश पठाउँदै नयाँ अमेरिकी प्रशासनको लैंगिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तन जस्ता सामयिक मुद्दाको सह्राना गर्नु भएको छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति बाइडनलाई बधाई सन्देश पठाउनु भएको छ । बाइडनको नेतृत्वमा अमेरिकाले प्रगति र समृद्धि हासिल गर्ने कार्यलाई जारी राख्ने ओलीले विश्वास व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले शुभकामना तथा बधाई सन्देशमा दुई देशबीचको पारम्पारिक सम्बन्ध बाइडेनको कार्यकालमा न्यानो र मैत्रीपूर्ण रुपमा अघि बढाउन चाहेको उल्लेख गर्नुभएको छ ।
अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बाइडनले नेपाली समयअनुसार बुधबार राति पद तथा गोपनियताको शपथग्रहण गर्नु भएको छ ।