नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको खोप लगाएका दुई जनाको मृत्यु भएको बताइएको छ । शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय एक बिरामी र उत्तर प्रदेशको मुरादाबादमा ५२ वर्षीय व्यक्तिको मृत्यु भएको बताइएको छ । खोप लगाएको भोलिपल्ट उनको मृत्यु भएको बताइएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म भारतमा ३ लाख ८१ हजार जनाले खोप लगाएका छन् । उनीहरु मध्ये अहिलेसम्म ५ सय ८० जनामा नकारात्मक असर देखिएको छ । तिमध्ये ७ जना अस्पताल भर्ना भएका छन् ।
विश्वकै ठूलो मानिएको खोप अभियान अन्तर्गत भारतले आफ्नै देशमा उत्पादन गरिएका कोभ्याक्सिन र कोभिसिल्ड खोप दिएको हो ।
सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड र एस्ट्राजेनेकासँग मिलेर बनाएको कोभिसिल्ड र भारत बायोटेकले भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्सँग मिलेर बनाएको कोभ्याक्सिन खोप भारतमा प्रयोग गरिएको हो । – एजेन्सी
























