काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड पार्टी कब्जा गर्ने उद्देश्यले नेकपामा आएको र त्यो पूरा नभएका कारण फर्किएको बताउनु भएको छ । प्रचण्डलाई चटकेको संज्ञा दिँदै नेकपा अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले पार्टी कब्जा गर्नबाट आफूले जोगाएको पनि बताउनु भयो ।
अन्तरपार्टी महिला संघद्धारा आज काठमाडौंमा आयोजित केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्रचण्ड चटके नेता भएको र माधवकुमार नेपाल उनका मामुली कार्यकर्ता भएको बताउनु भयो । प्रचण्डले माधव नेपाललाई पनि छक्याएको बताउँदै प्रधानमन्त्री ओलीले प्रचण्डले माधवलाई के गर्छन, त्यो हेर्न धेरै कुर्नु नपर्ने पनि बताउनु भयो ।
राजालाई दाम चढाउन जानेले आजभोलि राष्ट्रपतिमाथि हमाला गर्न थालेको पनि बताउनु हुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, –‘राजालाई पशुपतिनाथको मन्दिर हो कि जस्तो गरि वरिपरी घुम्दै, प्रभु भन्दै पाउमा दाम चढाउन जानेले गणतन्त्रमा राष्ट्रपतिमाथि हमला गरे ।’ लोकतन्त्र, गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारका बिरुद्ध हमला भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले गल्ती भए त्यसमा आफू जतिपनि बहस गर्न सक्ने बताउँदै राष्ट्रको गरिमामय संस्थामाथी मर्यादा नराखी जथाभावी आक्रमण गर्नु निन्दनीय भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संविधानका धारा प्रयोग गरेर नै संसद विघटन भएको बताउँदै, संविधानका धाराहरु पढन आग्रह पनि गर्नुभएका छ । पार्टीलाई बन्नै नदिने, तीन बर्ष सिंगै पार्टीका सवै सँगठनहरु असंगठित अस्तव्यस्त हुने, एकले भनेको अर्कोले नमान्ने, चलाउने एक ठाउँबाट भए पो मान्नु ? उहाँले प्रश्न गदै भन्नुभयो, “एकिकृत भएर पार्टी अगाडि बढनै सकेन, सरकारले कुनै निर्णय गर्न खोज्दा निर्णय गर्नै नदिने, सधै कुहिरोको काग जस्तो बनाएर पार्टी चल्छ ?”
पार्टीमा अनुशासनहीन, अराजक, षड्यन्त्रै षड्यन्त्रको पोको जस्तो डरलाग्दोे बन्दै गएकाले सफाई गर्नु जरुरी थियो भन्दै अध्यक्ष ओलीले उनीहरु आफै निस्किएर गए, अब पार्टी एकढिक्का भएर अघि बढ्ने र देश, जनता र राष्ट्रियताका पक्षमा काम गर्ने बताउनु भयो ।
देश बन्यो भने फलानाले जस पाउछ भनेर कामै गर्न नदिने ठुलै षडयन्त्र आफूमाथि भएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकारले यत्रो काम गरेको छ तर केही नेताले एक शब्द कहिल्यै सकारात्मक बोलेको देख्नुभयो ? उनीहरुले आफु नजिकका सञ्चारमाध्यम परिचालन गरेर पार्टी नीतिबिरुद्ध पार्टीलाई खुईल्याउने, समाप्त पार्ने, धुजाधुजा बनाउने काममा प्रयोग गरेका छन् ।” उनीहरुले देश बरबार बनाउन खोजे पनि त्यो हुन नपाएकोमा सबैले खुसी मान्नुपर्ने उहाँले बताउनुभयो ।
आफू समृद्ध नेपाल र सुखी नेपालीको एजेण्डा लिएर हिँडेका कारण सबैलाई हँसाउने वताउँदै अहिलेको राजनीतिक घटनाक्रमलाई लिएर चिन्तित नहुन र भ्रममा परेकाहरुलाई पनि समेट्न ओलीले आग्रह गर्नु भएको छ ।
जनयुद्धमा लागेर आफ्नो जीवन वर्वाद बनाएकाहरुलाई प्रचण्डले कहिल्यै नसम्झिएको र आफ्ना परिवारलाई मात्र फाइदा दिएको बताउँदै प्रधानमन्त्री ओलीले प्रचण्डले वर्वाद बनाइदिएका लडाकुहरुलाई यथोचित ब्यवस्था गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।