काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मुलुकलाई सङ्कटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने निर्णय गर्नु परेको स्पष्ट पार्नु भएको छ ।
ताजा जनादेश लिएर मुलुकलाई सही निकास दिन घोषणा गरिएको निर्वाचन प्रतिगामी नभई अग्रगामी भएको पनि स्पष्ट पार्नु भएको छ ।
नमस्ते ख्वप टेलिभिजनले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गुरुले भन्नुभयो “मुलुकलाई सङ्कटबाट निकास दिन ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गरिएको हो ।”
जनताको ताजा जनादेश लिएर मुलुकलाई निकास दिन प्रधानमन्त्रीले चाल्नुभएको कदम अग्रगामी भएको उहाँले बताउनु भयो । ताजा जनादेशमा जाने निर्णय सही भए/नभएको छुट्ट्याउने काम जनताले निर्वाचनबाटै गर्ने पनि बताउनु भएको छ ।
जनतालाई सही सूचना दिने गरी सञ्चार प्रवाह गर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्दै मन्त्री गुरुङले सञ्चारमैत्री नीति निर्माणमा आफू केन्द्रित भएको बताउनु भयो ।
आफूले सरोकारवाला निकायहरुसँगको सहकार्यमा जोड दिएको वताउँदै मन्त्री गुरुङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका कारण सञ्चार क्षेत्रलगायतका कुनै पनि व्यवसायमा नकारात्मक असर नपर्ने बताउनु भयो ।