काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन संविधान अनुसार नै भएको दोहोर्याउनु भएको छ । राष्ट्रियसभाको बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।
नेकपाभित्रको विवाद र आफूले चालेका कदमहरु बारे बोल्दै प्रधानमन्त्री ओलीले संविधानको धारा ८५ लाई उद्धृत गर्दै संसद विघटनको कल्पना संविधानले गरेको उल्लेख स्पष्ट पार्नु भयो ।
प्रतिनिधिसभा विघटन राजनीतिक निर्णय भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक पद्धतिको अभ्यास गर्न दिनुपर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनस्र्थापना हुन नसक्ने बताउँदै तोकिएकै मितिमा निर्वाचन हुने र त्यसको तयारीमा लाग्न सवैलाई आग्रह पनि गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले भारतको अतिक्रमणमा परेका लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भूभाग नेपालको नक्सामा मात्रै नभई व्यवहारमा पनि कायम गरिने दाबी गर्न भएको छ ।
भारतसँग मित्रतापूर्ण ढंगले छलफल चलिरहेको र ती छलफलहरुले सफलता पनि प्राप्त गरिरहेको उहाँले बताउनु भएको छ ।
केही मान्छेहरुले लिपुलेकसहितको अतिक्रमित भूभाग समेटेको नक्सा प्रकाशन गरेर भारतसँगको सम्बन्ध बिगारेको बताइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफूले सम्बन्ध बिगार्ने काम नगरेको स्पष्ट पार्नु भएको छ ।
प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अरुको भूमिमा दाबी गरेको भए सम्बन्ध बिग्रने हो । सुगोली सन्धिपछि त्यो भूभाग हाम्रो हो । १८१६ देखि । १४६ वर्षसम्म भोगचलन गरेका थियौँ । तर भारत र चीनको लडाइँ चलेका बेला भारतका सेना कालापानीमा बसेपछि ५८ वर्षसम्म भोगचलन गर्न पाएका छैनौँ, नेपालका शासकहरुले यसबारे बोल्न सकेनन् । हाम्रो भूभाग हाम्रो नक्साबाट पनि गायव गरिएको थियो । हामीले नक्सामा सामेल गर्यौँ, संविधानमा राख्यौँ । व्यवहारमा पनि कायम गर्न प्रमाण तथ्यका आधारमा छलफल हुँदैछ । मित्रतापूर्ण ढंगले कुरा गर्दा सम्बन्ध बिग्रिँदैन ।’