काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउनका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालहरु खुमलटार र अन्यत्र गरेर ३१५ पटक वैठक बसेको स्पष्ट पार्नु भएको छ ।
आज अनेरास्ववियू केन्द्रीय समितिले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न, नक्सा छापेको विरोध गर्न र सरकार विघटन गर्न खुमलटारदेखि अर्याल होटलसम्म त्यस्ता षडयन्त्रका बैठक बसेको बताउनु भयो ।
वैशाख १३ देखि मंसिर ४ सम्म कहिले खुमलटार, कहिले कोटेश्वर, कहिले प्रेसिडेन्ट कलेज, कहिले अँगेनोको डिल त कहिले बानेश्वरको अर्याल होटलमा उनीहरु बैठक बसेको बताउनु भयो । उहाँले वैशाखयता पार्टी फुटाउनका लागि खुमलटार (प्रचण्ड निवास) मा मात्रै २८० वैठक बसेको बताउनु भयो ।
प्रचण्ड–माधव पक्षले जमघट भएका ठाउँमा मान्छे भेट्यो कि सही गराउँदै, पछि त्यसको माथि केपी ओली हटाउने व्यहोरा लेखेर टाँस्ने गरेको पनि खुलासा गर्नुभयो ।
महिलाको हुर्मत लिनलाई आफूलाई किड्नी दिने भान्जीदेखि राष्ट्रपतिसम्मको चरित्रहत्या गर्ने र महिलाको किड्नी लगाएको व्यक्तिको दिमाग सन्तुलित नहुने भनी टिप्पणी गर्ने घृणित कार्य गर्न समेत उनीहरु पछि नपरेको बताउनु भयो ।
पार्टी एकताको तीन वर्ष संगठन पुरै निष्कृय भएको बताउँदै प्रधानमन्त्री ओलीले आन्दोलनको अग्रभागमा रहने अनेरास्ववियूलाई समेत उनीहरुले परिचयपत्र देखाएर अनेरास्ववियू हुँ भन्नुपर्ने अवस्थामा पुर्याएको बताउनु भयो ।
अध्यक्ष ओलीले अब अलमलमा नपरी सांगठनिक गतिविधिमा अगाडि बढेर अनेरास्ववियूलाई एक नम्बरको संगठन बनाउन र टाढैबाट चिनिने खालको अनेरास्ववियूको सदस्य बन्न समेत आग्रह गर्नु भएको छ ।