डोटी । संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले अहिलेसम्म देश विकासका लागि कसैले गर्न नसकेको काम प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताउनु भएको छ।
डोटीको सिलगढीमा आयोजित कार्यक्रममा मन्त्री आलेले प्रचण्ड–नेपाल समूहका नेताहरुलाई पुनः फर्किएर आउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीबाट अलग्गिएर पुग्ने अर्को ठाउँ कतै नभएको बताउँदै मन्त्री आलेले पुनः फर्केर आउन र एकढिक्का भएर निर्वाचनमा होमिन आग्रह गर्नु भएको छ ।
मन्त्री नियक्त भएपछि पहिलो पटक डोटी आउनु भएका मन्त्री आलेको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफूलाई प्रधानमन्त्री ओलीले विश्वास गरेर दिएको मन्त्रालयलको जिम्मेवारी इमान्दार भएर निर्वाह गर्नु बताउनु भयो । उहाँले देश र जनताको शिर निहुर्याउने काम आफूबाट कहिल्यै नहुने बताउँदै छोटो समयमा पनि अहिलेसम्मकै उत्कृष्ट काम गरेर देखाउनु प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मन्त्री आलेले दुई वर्षको काम पाँच महिनामा गर्ने ताकत बोकेर आएको पनि बताउनु भयो । आफ्नो जिम्मेवारीको मन्त्रालय अन्तर्गतका विभिन्न विकृति विसंगति हटाउँदै सिंगो देश र सुदुरपश्चिम प्रदेशको स्मृद्धिका लागि अहिलेसम्मकै नमुना काम गरेर देखाउने मन्त्री आलेले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले लगाएका विभिन्न आरोपप्रति इंगित गर्दै मन्त्री आलेले अब उनका दन समाप्त भएको बताउनु भयो ।
आफू सत्ता बाहिर हुँदा राष्ट्रियताका ठूला कुरा गर्ने र पदमा रहँदा चुँइक्क नबोल्ने रावलको प्रवृत्ति सवै जनताले बुझेको पनि उहाँले बताउनु भयो ।
पटक पटक सत्तामा पुगेर ठूलो नेता हुँ भन्ने रावलले सुदूरपश्चिमका लागि अहिलेसम्म के गरे ? भन्ने प्रश्न गर्दै मन्त्री आलेले रावलले दशलाख बजेट हाल्न नसकेको ठाउँमा आफूले करोडौं रुपैंयाँ बजेट विनयोजन गर्न लगाई काम अघि बढाएको बताउनु भयो ।
आफूलाई सुदूरपश्चिम इन्चार्ज हुँ भन्नेले नेकपाको बैंक खाताबाट ३३ लाख रुपैयाँ चोरेर लैजाने काम बाहेक रावलले अन्य केही गर्न नसकेको आरोप मन्त्री आलेले लगाउनु भएको छ ।