काठमाडौं । नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले पार्टीभित्रका अवसरवादी (पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल) को महत्वाकांक्षामाथि टेकेर प्रतिक्रियावादीहरु नेकपा विभाजनमा गर्न सफल भएको बताएका छन् ।
ललितपुरमा महानगरस्तरीय पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता थापाले नेकपाका नेताहरु दाहाल, नेपाल र खनालको राष्ट्रपति, प्रधानमन्त्री र अध्यक्ष बन्ने महत्वाकांक्षाले पार्टी दुर्घटनामा परेको बताए ।
नेकपाका सांसदलाई विभाजन गरेर स्थायित्वतिर हिँडेको संसदलाई अस्थिरता प्रदान गर्ने संयन्त्रका रुपमा परिणत गर्न प्रतिक्रियावादी सफल भएको वताउँदै नेता थापाले भने “प्रतिक्रान्तिको खतरा रोक्न र विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न, राजनीतिक स्थायित्व स्थापित गर्न प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर जनतामा जाने निर्णय गर्नु भएको हो ।”
अव संसदको पुनःस्थापनाबाट समस्याको समाधान नहुने भन्दै नेता थापाले निर्वाचनमार्फत नयाँ संसदको स्थापना नै उत्तम र अन्तिम विकल्प भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम अग्रगामी भएको वताउँदै नेता थापाले आफूहरु पार्टी फुट, गुट, अस्थिरताका विरुद्ध, संमृद्धि र विकासका पक्षमा भएकाले नेकपाको मुल पार्टीमै बसेको बताए ।



















