काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटेको नभई केही नेता अलग भएर सडकमा गएको बताउनु भएको छ । पार्टीमा देखिएको समस्याको सकारात्मक निकास निकाल्न आफूले धेरै काँध थापे पनि केही नेता अलग भएर ठूला नेता हुँ भन्दै सडकमा तमासा देखाएको उहाँले बताउनु भएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसरमा प्रवासी नेपाली एकता मञ्चहरुले संयुक्त रुपमा आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको नेकपा वैधानिक पार्टी भएकाले कतै निवेदन दिन जानु नपरेको बताउनु भएको छ ।
पार्टीको वैधानिकता, वहुमत र अल्पमत जनताबाट फैसला हुने बताउँदै निर्वाचन आयोगमा एउटा निवेदन दिँदैमा वैधानिकता प्राप्त नहुने बताउनु भएको छ । आफूहरु आधिकारी पार्टी भएका कारण नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग जानू नपर्ने पनि बताउनु भएको छ ।
आफूहरु कहाँ छौँ भन्ने कुरा जनताले देखेको भन्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालहरु सडकमा छातीका कागज टाँसेर ‘हामी यहाँ छौँ’ भन्ने अवस्थामा आइपुगेको पनि बताउनु भयो ।
प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहका गतिविधिले आम कार्यकर्ताको मन दुखेको बताउनु भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले भन्नुभयो ‘उहाँहरुले निर्वाचन आयोग, अदालत, सडक, मिडियामा गएर तमासा देखाएका कारण दुःख गरेर पार्टी निर्माण गरेका कार्यकर्ताको मन दुखेको छ।’
प्रचण्ड–नेपालहरुले देश, पार्टी र जनताको कुरामा ध्यान नदिएर पार्टी कार्यालय कब्जा गर्ने, बैंक खाताबाट पैसा निकालेर गायब गर्ने र कार्यकर्तालाई भिडन्त गराउनेतिर लागेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो “उहाँहरु लोकतान्त्रिक प्रणाली ठीक होइन, संघीयता ठीक होइन भन्ने निष्कर्ष निकाल्न उद्दत हुनु भएको छ । राजा चाहिन्थ्यो भन्नेलाई ठाउँ दिन राष्ट्रपतिको हुर्मत लिन खोजिएको छ ।”



















