काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएपनि आन्दोलन गरेर अदालतको प्रक्रियालाई प्रभावित पार्न नहुने बताएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सभापति देउवाले अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाका विषयमा अनावश्यक विवाद नगर्न नेता, कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
अहिले नेपाली कांग्रेसमा प्रधानमन्त्री केपी ओलीसँग मिलेर जानुपर्छ भन्ने पक्षमा सभापति शेरबहादुर देउवा स्पष्ट देखिएका छन् । उनले आउँदो संसदीय निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा राख्दै आएका छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका केही नेताले संसद पुनस्र्थापनामै जोड दिनु पर्ने बताएका छन् ।
देउवाले पुनस्र्थापनाबारे ढुक्क हुन सकिने अवस्था नरहेको भन्दै आफ्ना निकटवर्तीहरुलाई प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने आशय व्यक्त गरेको बताइन्छ । देउवा र पौडेलबीचको तनावमा केही नेता तटस्थ देखिएपनि उनीहरु संसद पुनस्र्थापना हुन्छ कि संसदको चुनाव होला भन्ने कुरामा अन्यौलग्रस्त देखिएका छन् ।
प्रमुख प्रतिपक्षीले संसदीय परिपाटीमा सरकारलाई घच्घच्याउने, जनता र सरकारबीच सहजकर्ताको भूमिका खेल्ने र सरकारले लिएका गलत नीतिको विरोध गर्दै जनभावना अनुसार प्रजातान्त्रिक पद्धतिको रक्षाका लागि गृहकार्य गर्नुपर्ने देखिन्छ । तर सत्तामा रहँदा र नरहँदा पनि सुविधाभोगी राजनीति गरेका कारण कांग्रेस नेतृत्वले युवा पुस्ताको चित्त बुझाउन सकिरहेको देखिदैन ।