काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पुष्पकमल दाहालले नेकपा एमाले फुटाउनकै लागि पार्टी एकता गराएको बताउनु भएको छ ।
ववरमहलस्थित कार्की व्याङ्केटमा आयोजित नेकपाको सुदूरपश्चिमका राजधानीमा रहेका अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै मन्त्री आलेले माओवादी चिराचिरा परे अस्तित्व मेटिन लागेपछि दाहालले नेकपा एमाले फुटाएर आफूतर्फ ल्याउने उद्देश्यले नै पार्टी एकता गरेको बताउनु भएको छ ।
मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्र विक्रम चन्द विप्लव लगायतले दाहालको एकल नेतृत्वका अत्याचार सहन नसकेर बाहिरिएपछि नेकपा एमालेतिर उनले आँखा गाडेको आलेले बताउनु भयो । मन्त्री आलेले भने झै पार्टी एकता ताका वामवुद्धिजीवीहरुले पनि पार्टी एकता हुनुमा दाहालको गम्भीर षडयन्त्र रहेको बताएका थिए । दाहालले सके एमाले कब्जा गर्ने नसके फुटाएर नेता, कार्यकर्तालाई आफूतर्फ आकर्षित गरेर आफ्नो स्थिति बलियो बनाउने रणनीति रहेको बताएका थिए ।
पार्टीमा कार्यकारी अध्यक्ष दिँदा पनि चित्त बुझाउन नसक्नुभएका पछाडि दाहालको खराब नियत रहेको प्रष्ट भएको मन्त्री आलेले बताउनुभयो । देश, जनता, विकास निर्माण र राष्ट्रियतामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली खम्बाजस्तै उभिएपछि दाहाललाई डाहा भएको पनि मन्त्री आलेले बताउनुभयो ।
मन्त्री आलेले भन्नुभयो “केपी ओलीको मृगौला फेल भएको छ अब तीन वर्ष भन्दा बढी बाँच्दैन भनेर पार्टी एकता गर्नुभएको रहेछ भन्ने कुरा उनका क्रियाकलापबाट प्रष्ट भएको छ ।”
मंगलबार राजधानीमा दाहाल–नेपाल समूहले गरेको प्रदर्शन र सभामा लगाइएका नारा र अभिव्यक्तिप्रति मन्त्री आलेले आपत्ति जनाउनु भएको छ । उहाँले भन्नुभयो “राष्ट्रपति र प्रधानमन्त्रीको विषयमा अनुहार मन नपरेहोला तर जसरी उहाँहरुले घिन लाग्दो नारा लगाउनुभयो त्यसको म घोर भत्सर्ना गर्छु, उहाँहरु कुन धरातलमा टेकेर राजनीति गर्दै हुनुहुन्छ म प्रश्न गर्न चाहान्छु ।”
माधवकुमार नेपालले १५ वर्ष पार्टीको महासचिव चलाउँदा पहिलो संविधान सभा चुनावमा ३३ सिटसहित तेस्रो स्थान हासिल गर्दा नैतिकताका आधारमा राजीनामा दिएको स्मरण गर्दै मन्त्री आलेले भन्नुभयो “ओलीको नेतृत्वमा पार्टीले झण्डै दुई तिहाई मत ल्यायो । भारतीय नाकाबन्दीको सामना गरेर प्रधानमन्त्री ओलीले देश, जनता र राष्ट्रियताको पक्षमा अडिग भएर उभिनुभयो । अहिले निजी स्वार्थ पूरा गर्न र नेपालको राजनीतिलाई अस्थिरततर्फ धकेल्ने शक्तिको पछि लागेर नेता नेपालले प्रधानमन्त्री ओली, पार्टी र देशलाई कमजोर बनाउनु मिल्छ ?”