काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाका दाहाल–नेपाल समूहले आज आयोजना गरेको सभामा नेताहरुले गालीगलौजलाई प्राथमिकतामा राखेको पाइएको छ ।
सभालाई सम्वोधन गर्ने पुष्पकमल दाहाल, माधवकुमार नेपाल,झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतको भाषण पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गालीमा मात्र सीमित भएको छ ।
भृकुटीमण्डपमा आयोजित विरोध सभामा बोल्ने क्रममा उनीहरुले प्रधानमन्त्री ओलीकै वरिपरि भाषणलाई सीमित राखेका छन ।
सभामा बोल्नुहुँदै दाहालले प्रतिनिधि सभा विघटनले देशमा अस्थिरता निम्त्याउने बताएका छन् । उनले अहिलेको गल्ती नसच्याए यो परम्परा बस्ने भन्दै नेपाली कांग्रेसलाई चुनावमा सहभागि भएर जित्ने लोभ नगर्न आग्रह गरेका छन् ।
पार्टीमा सरसल्लाह नगरी, पार्टी निर्णय विना नै प्रतिनिधि सभा विघटन हुनु दुखद भएको उनले बताए ।
त्यस्तै नेता नेपालले अझै पनि नेकपा फुटिनसकेको बताउँदै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुर्नस्थापनको लागि पहल गरे आफ्नो समूह छलफल गर्न तयार रहेको बताए ।
दाहाल र नेपालले नेकपाको सूर्य चिन्हको हकदार आफूहरु नै भएको घाम जत्तिकै छर्लङ्ग रहेको बताए । तर उनीहरुले प्रतिनिधिसभा पुनस्र्थापना र पार्टीको आधिकारिता आफूहरुले नै पाउनेमा भने आशंका जन्माएका छन् ।
दाहालले भनेका छन्, “अदालत र निर्वाचन आयोगप्रति हाम्रो भरोसा छ, तर त्यो भन्दा पनि वढी विश्वास नेपाली जनतासँग छ । हाम्रो अधिकार सडक मार्फत जनताबाट प्राप्त गछौं ।”
संविधान अनुसार प्रतिनिधि सभा विघटन हुन नसक्ने जिकिर गर्दै उनीहरुले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको दावी गरे ।
माधव नेपालले संविधान ल्याएको छु, तपाईहरु पनि पढ्न सक्नुहुन्छ भन्दै नोटवुक पल्टाउँदै संविधानको व्याख्या गर्न खोजेका थिए । उनले प्रतिनिधि सभा पुनस्र्थापना भएरै छाड्ने दावी गरे ।
नेता नेपालले पनि अहिले सडक तताउनुपर्ने समय भएको वताउँदै सडकबाट नै प्रतिनिधि सभा पुनस्र्थापना गर्नका लागि सबैलाई सडकमा आउन आग्रह समेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफूहरुलाई पार्टीको एक अध्यक्ष र प्रधानमन्त्री दिन्छु भनेर ढाँट्ने काम मात्र गरेको नेता दाहाल र नेपालले बताएका छन् ।